काठमाडौँ १९ साउन
काठमाडौँ सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सिंहदरबारलाई लामो समयदेखि अखडा बनाएर बसेका केही कर्मचारीको सरुवा र जिम्मेवारी पनि ज्येष्ठता तथा क्षमताका आधारमा अन्यत्र हुने बताएका छन् ।राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले मन्त्री मोदीले यस्तो बताएका हुन् । उनले आफू अनुकूलका कर्मचारीहरुलाई सरुवा गर्नका लागि राजनीतिक तहबाट र स्थानीय जनप्रतिनिधिहरुबाट पनि दबाब आउने गरेको भन्दै त्यसो नगर्न आग्रह गरे ।
उनले सङ्घीय निजामती सेवा ऐनको मस्यौदा गरी सहमतिका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको समेत जानकारी दिएका छन् ।
कानून मन्त्रालयबाट सहमति प्राप्त भएपछि सो ऐन यथाशीघ्र मन्त्रिपरिषदमा लैजाने बताएका हुन् । मन्त्री मोदीले तीन सयभन्दा बढी स्थानमा लामो समयसम्म निमित्तको जिम्मेवारीमा रहेका स्थानीय तहमा कर्मचारी व्यवस्थापनको काम भइरहेको छ जानकारी दिदै अनुमानयोग्य कर्मचारी सरुवा मापदण्ड बनाउने कार्यलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको बताए ।
सरकारले अर्थतन्त्र सुधार, जनजीविकाका मुद्दा तथा विकास र समृद्धिको विषयलाई पनि उच्च महत्व दिएको जनाउँदै मन्त्री मोदीले देशमा पछिल्ला समय भएका विभिन्न घटनाका सम्बन्धमा सरकारले निष्पक्ष छानबिनका लागि निर्देशन दिँदै वातावरण बनाइरहेको जानकारी दिए ।
मन्त्री मोदीले देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणको निष्पक्ष तरिकाले छानबिन गरिरहेको बताए । उनले सरकारले आफ्ना नजिककालाई बचाउने र अर्काका मान्छेलाई कारबाही गर्ने नीति नलिएको स्पष्ट पारे ।