काठमाडौ १८ साउन
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले खाद्यपदार्थको मूल्यवृद्धि नहुने गरी मुलुकको आपूर्ति व्यवस्था सहज बनाउन निर्देशन दिएका छन्।
मन्त्रालयमा बुधबार आयोजित छलफलमा उनले आपूर्ति व्यवस्थामा आउन सक्ने समस्या समाधान गर्न आफ्नो पूर्ण साथ र सहयोग रहने बताएका हुन्।
सम्पूर्ण सरोकारवाला निकाय सजग रही आपूर्ति शृंखलामा कुनै कमीकमजोरी हुन नदिन सबैले आ(आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै मन्त्री रिजालले मन्त्रालयको तर्फबाट अत्यावश्यक वस्तुको आपूर्तिमा सबै प्रकारको सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव, विभिन्न मन्त्रालय तथा विभागका पदाधिकारीहरू र आपूर्ति क्षेत्रसँग सम्बद्ध सार्वजनिक निकायका प्रमुखको उपस्थिति थियो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सबै सरकारी तथा निजी क्षेत्रले आपसी सहकार्यमा आपूर्ति व्यवस्था सहज र व्यवस्थित बनाउन लाग्नुपर्ने बताए।