काठमाडौं,११ साउन ।
नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं- ४ का प्रतिनिधिसभा सदस्य गगन थापाले निर्वाचन आयोगलाई जरिवाना तिरेका छन् ।
महामन्त्री थापाले बुधबार सामाजिक सञ्जालमार्फत निर्वाचन खर्च सार्वजनिक गर्दै आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना तिरेको जानकारी गराएका छन् । निर्वाचन खर्चको विवरण सार्वजनिक नगरेको भन्दै आयोगले गत मंसिरमा भएको चुनावका उम्मेदवारहरूलाई १५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
महामन्त्री थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘मैले निर्वाचन आयोगमा खर्च विवरण २०७९ मंसिर २५ गते नै बुझाइसकेको छु । यो विवरण सार्वजनिक पनि भएको थियो, तर यस्तो जानकारी आयोगलाई दिनुपर्ने थाहा नभएको जानकारी गराउँछु । पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको छु ।’