neapl investment mega bank
  • गृहपृष्ठ
  • २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाख ऋण तिर्नै बाँकी, कहिले होला विकास ?

२२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाख ऋण तिर्नै बाँकी, कहिले होला विकास ?

Jul 25th, 2023

काठमाडौँ ९ साउन

नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू. २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९-८० को अन्तसम्ममा नेपालले रू. ११ खर्ब २८ अर्ब ३२ करोड ९२ लाख बराबर आन्तरिक र रू. १० खर्ब ९३ अर्ब ३४ करोड ९३ लाख बराबर बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो।

गत आर्थिक वर्षमा मात्र नेपालको सार्वजनिक ऋण रू. दुई खर्ब आठ अर्ब ३८ करोड २१ लाख थपिएको छ। अघिल्लो आर्थिक वर्ष २०७८-७९ को असार मसान्तसम्ममा यस्तो ऋण रू. २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख बराबर थियो। गत आर्थिक वर्षमा मात्र रू. एक खर्ब ४० अर्ब ८७ करोड ९९ लाख बराबर आन्तरिक र रू. ६७ अर्ब ५० करोड २२ लाख बराबर बाह्य ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

गत आर्थिक वर्ष २०७९/८० मा नेपालको पुँजीगत खर्च रू दुई खर्ब ३३ अर्ब ६९ करोड बराबर हो। सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा गतवर्ष सरकारले गरेको खर्च पनि विकास खर्चकै हाराहारी छ।

गत वर्षमा ऋणको साँवा ब्याज भुक्तानीमा सरकारले रू दुई खर्ब २२ अर्ब ७४ करोड २१ लाख खर्च गरेको छ। जसमध्ये, आन्तरिक ऋणको साँवा-ब्याज भुक्तानी रू एक खर्ब ७९ अर्ब ७२ करोड ५३ लाख र बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा रू ४३ अर्ब एक करोड ६८ लाख बराबर खर्च भएको छ।

सरकारले गत वर्ष आन्तरिक ऋणको साँवा मात्रै रू एक खर्ब १५ अर्ब ११ करोड ७८ लाख बराबर तिरेको छ। त्यस्तै, आन्तरिक ऋणको ब्याजमा रू ६४ अर्ब ४९ करोड ४२ लाख र नेपाल राष्ट्र बैंकलाई तिर्ने कमिसनमा रू ११ करोड ३३ लाख बराबर खर्च भएको छ।

बाह्य ऋणमा भने रू. ३४ अर्ब ६१ करोड ७९ लाख बराबर साँवा र रू आठ अर्ब ३९ करोड ८९ लाख बराबर ब्याज भुक्तानी भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

गत आर्थिक वर्ष २०७९-८० मा नेपालले रू तीन खर्ब ३८ अर्ब ११ करोड ७८ लाख बराबर आन्तरिक र बाह्य ऋण उठाएको छ। आन्तरिकतर्फ रू. दुई खर्ब ५५ अर्ब ९९ करोड ७७ लाख र बाह्यतर्फ रू एक खर्ब दुई अर्ब १२ करोड बराबर ऋण उठाइएको छ।