neapl investment mega bank
  • गृहपृष्ठ
  • ३९ करोड हिनामिना गर्ने गृहशान्ति सहकारी सहित ६८ वटा सहकारी संस्थाहरू महानगरको कारबाहीमा

३९ करोड हिनामिना गर्ने गृहशान्ति सहकारी सहित ६८ वटा सहकारी संस्थाहरू महानगरको कारबाहीमा

Jul 5th, 2023

काठमाडौँ २० असार

बचतकर्ताको रकम हिनामिना गर्ने ६८ वटा सहकारी संस्थाहरूलाइ काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने भएको छ । ति सहकारीलाई बचतकर्ताको रकम हिनामिना गरेको भन्दै महानगरले कानुनी कारबाहीको लागि प्रहरीलाई पत्र काटेको हो ।

महानगरको कार्यक्षेत्रभित्र पर्ने सहकारीमध्ये गृहशान्ति बचत तथा ऋण सहकारी संस्थाले सबैभन्दा धेरै ३९ करोड ११ लाख रुपैयाँ हिनामिना गरेको छ महानगरले प्रहरीलाई पठाएको पत्रमा उल्लेख छ । त्यसपछि अस्मोसिस बचत तथा ऋण सहकारी संस्थाले ७ करोड ५४ लाख रुपैयाँ अपचलन गरेको देखिएको छ ।

यस्तै ३ करोडमाथि बचत अपचलन गरेको भन्दै कारबाहीका लागि सिफारिस गरिएका सहकारीहरूमा हलमार्क बचत तथा ऋण सहकारी संस्था, मानापाथी बचत तथा ऋण सहकारी संस्था, अभिमत बचत तथा ऋण सहकारी संस्था, नव सङ्कल्प बचत तथा ऋण सहकारी संस्था, जिलेट बचत तथा ऋण सहकारी संस्था र पर्फेक्ट बचत तथा ऋण सहकारी संस्था छन् ।

सङ्ख्याका हिसाबले आरक्ष ऋण तथा बचत सहकारी संस्थामा सबैभन्दा धेरै ५८८ जना बचतकर्ताले रकम फिर्ता नपाएको उजुरी परेको महानगरले जनाएको छ । उनीहरूले २ करोड ५० लाख रुपैयाँ दाबी रकम सहित गुनासो आएपछि महानगरले प्रहरीलाई कारबाही गर्न पत्र लेखेको थियो । त्यस्तै दोस्रोमा द नेक्स्ट सहकारी संस्थाले बचत फिर्ता नगरेको भन्दै २४४ जनाले उजुरी दिएका छन् । उनीहरूले १ करोड ८२ लाख रुपैयाँ बचत फिर्ता नआएको दाबी गरेका छन् । मध्यविन्दु बचत तथा ऋण सहकारीमा १७७ जना र नवसङ्कल्पमा ११३ जनाले बचत फिर्ता नभएको भन्दै उजुरी दिएका छन् । त्यहीअनुसारको पत्र महानगरले प्रहरीलाई पठाएको छ ।

काठमाडौँ महानगरको सहकारी विभागले २०८० साल लागेपछि मात्रै ८ वटा सहकारी विरुद्ध प्रहरीलाई पत्र काटिसकेको छ । महानगरले २०७२ सालदेखि २०८० असारसम्म गरेर करिब २ हजार ७०० जना बचतकर्ताको १ अर्ब २१ करोड ३८ लाख रुपैयाँ हिनामिना गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा कारबाहीको लागि पत्र पठाएको हो । बचतकर्ताले दिएको उजुरीका आधारमा महानगरले प्रहरीलाई पत्र पठाएको हो ।

महानगरको सहकारी विभागका अनुसार २०७२ र ०७४ सालमा १(१ वटा, ०७५ सालमा दुई वटा, ०७६ सालमा ५ वटा, २०७७ सालमा ११ वटा र ०७८ सालमा १८ वटा सहकारीबाट बचतकर्ताका रकम हिनामिना भएको भन्दै प्रहरीलाई पत्र काटिएको थियो । त्यसयता भने सहकारीले रकम अपचलन गरेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । २०७९ यता मात्रै ३० वटा सहकारीले ३३ करोड ६३ लाख रकम हिनामिना गरेको विभागले जनाएको छ ।