काठमाडौं ११ असार
पछिल्लो समय मानिसहरू सामूहिक गाई भैंसी पालनमा आकर्षित भएका छन्। कृषिप्रतिको अनिच्छा तथा परनिर्भरता बढिरहेका अवस्थामा सरावल गाउँपालिका–१ नवलपरासीका युवाहरू भने सामूहिक पशुपालनमा जुटेका हुन् । आज भन्दा ४ वर्ष अघि गाउँका १७ जना युवाहरू मिलेर ‘किसानको साथी कृषक समूह’ खोलेर बचत तथा ऋणको काम गर्दै आएको थिए। तर, पछिल्लो समय गाउँ टोललाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखेर गाई तथा भैंसी पालनमा होमिएको समूहका सचिव शरद भण्डारी बताउँछन्।
‘गाउँका साथीसंगी काम खोज्दै विदेश जान्थे । तर, अर्काको देशमा गएर रगत÷पसिना बगाउनु भन्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने हुटहुटी हामीमा थियो। त्यसैले गाई भैंसी पाल्न थाल्यौ,’ उनी भन्छन्, ‘मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने प्रमाणित गरेर देखाउने मन थियो। देखाउन पाएका छौं, खुसी छौं।’
उनीहरू एकै पटक भैंसी पालनमा होमिएका भने होइनन, पहिला पनि गाउँमा २–३ वटा गाई भैंसी प्रत्यकको घरमा हुन्थ्यो। तर, विगतमा परम्परागत पशुपालनमा रमाउँदै आएका यहाँका किसानले यसलाई व्यावसायिक स्वरुपमा बदल्दै लगेका हुन् । अहिले उनीहरूको गोठमा २७ वटा गाई र २२ वटा उन्नत जातका भैंसी छन्। दैनिक ३ सय लिटर दूध उत्पादन हुन्छ।
तर, हालको समय अफ सिजन भएका कारण दैनिक दुई सय लिटर मात्र दूध उत्पादन हुने गरेको सचिव भण्डारीको भनाई छ। उनका अनुसार दूध बिक्रीका लागि कुनै समस्या छैन। डीडीसी तथा सहकारीलाई दूध बिक्री गर्दै आएको उनी बताउँछन्। ‘यहाँ दूध बिक्री गर्न कुनै समस्या छैन। सहकारी तथा डीडीसीलाई सम्झौता नै गरेर बिक्री गर्दै आएका छौं,’ उनी खुसी हुँदै भन्छन्,‘अझ माग अनुसार हामीले उत्पादन गर्न सकिरहेका छैनौं। अब गाई भैंसी पालन बढाउदै लैजाने योजना हाम्रो छ।’ हाल मासिक ४ लाख रूपैयाँसम्म कारोबार भइरहेको छ।
फार्ममा एनएलएसआईपीको ७५ लाख अनुदान
व्यवसाय गर्छु भनेर ठूला ठूला योजना भएर मात्र हुदैँन। सबैभन्दा पहिला आफूसँग लगानी हुन आवश्यक छ। कृषक समूह खोलेको लामो समय भएपनि कृषि उत्पादन तर्फ समूहले काम गर्न सकेको थिएन, योजना मात्र बनिरहेको थियो। अर्को तर्फ आर्थिक मन्दीले बैंकबाट ऋण नपाउँदा पनि कुनै व्यवसाय सुरु गर्न नसकिएको सचिव भण्डारी बताउँछन्। ‘थोरै रकमले व्यवसायिक फार्म संचालन हुँदैन,’ उनी भन्छन्, ‘समूह खोलेदेखि बचत तथा ऋणसँगै सामूहिक व्यवसाय गर्ने योजना त थियो। तर, हामीसँग लगानी गर्न पैसा थिएन। हामीसँग भएकोले पुग्दैन थियो।’ उनीहरू व्यवसाय गर्ने योजनासहित धेरै बैंकहरू पनि धाए तर कतैबाट पनि ऋण पाएनन्।
उनी गुनासो गर्छन् ‘ऋणका लागि धेरै बैंकको ढोका ढकढक्यौं तर, आर्थिक मन्दीको कारण देखाउँदै कसैले दिएनन्। हामी त हरेस खाइसकेका थियौं।’ तर, त्यतिकैमा उनीहरूले नेपाल लाइभस्टक सेक्टर इनोभेसन अयोजना (एनएलएसआईपी) ले समूह तथा सहकारीलाई ५० प्रतिशत अनुदान दिने कुरा थाहा पाए। र सहकार्य सुरु गरे।
‘हामीलाई त ढुङ्गा खोज्दा देवता मिले जस्तो भयो,’ खुसीको सास फेर्दै उनी भन्छन्, ‘आफ्नै देशमा व्यवसाय गर्ने योजना भए पनि लगानी नपाएका हामीलाई एनएलएसआईपी त देवता बनेर आयो। हाम्रो योजना र उहाँहरूको योजना मिलेपछि हामीले सामूमिक गाईभैंसी पालन सुरु गर्यो।’ एनएलएसआईपीले करिब ७५ लाख रूपैयाँ अनुदान सहयोग गरेको छ। बाँकी ३० प्रतिश बैंक तथा २० प्रतिशत लगानी समूहको रहेको उनले बताए। उनका अनुसार उक्त रकमले ठूलो कमपाउन्डमा सुधारियको गोठ निर्माण गरिएको छ। साथै गाई भैंसी खरिदलगायत गाई भैंसी पालन गर्दा आवश्यक पर्ने सामाग्रीहरू गरिद गरिएको सचिव भण्डारीले बताए। उनका अनुसार अनुदान पाएपछि काम गर्न एकदमै सहज भएको छ।
‘एनएलएसआईपीको सहयोग अमूल्य छ । ५० प्रतिशत सहयोग गर्दा पनि व्यवसाय गर्न धेरै सहज भएको छ,’ उनी भन्छन्, ‘अनुदान पाएपछि अझ आफ्नै देश केही गर्नुपर्छ भन्ने उर्जा मिलेको छ। हामीलाई दिएको अनुदान दुरुपयोग हुन दिदैनौं। अझ व्यवसाय विस्तार गर्दै लैजाने योजना छ।’ हाल फार्मबाट समूहकै ६ जनाले रोजगारी पाएका छन्। यसरी आयोजनाको सहयोग युवाहरू पशुपालनमा आकर्षित भएका छन्।
उक्त आयोजनाले कृषिको विकासका लागि सहकारी र समूहमार्फत व्यवसाय गर्ने किसानहरूलाई अनुदान दिदैं आएकोे आयोजनाका कृषि विज्ञ सुशील खड्का बताउँछन्। उनका अनुसार विश्व बैंकको ५५ मिलियन डलर सहुलियत ऋण सहयोगमा सञ्चालित आयोजनाले पशुजन्य पदार्थहरूको उत्पादकत्व तथा मूल्य शृङ्खलामा वृद्धि र छनौट गरिएका पशुजन्य वस्तुहरू (दूध, मासु, पश्मिना) मा आधारित साना किसान तथा उद्यमीहरू लगायतको समयानुकूलतालाई सुधार गर्ने लक्ष्य लिएर काम गरिरहेको छ ।
आयोजनाले पाँच प्रदेशका विभिन्न जिल्लाका विभिन्न स्थानीय तहका सामुह तथा सहकारीलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ। यो आयोजनाको कार्यक्रम अनुसार सुरुमा भौतिक कार्य सम्पन्न गर्नु पर्ने प्रावधान रहेको छ । यस सहकारीमा संस्थाका सबै सदस्यहरूको २० प्रतिशत आफ्नो लगानी रहेको छ भने ३० प्रतिशत बैंकबाट ऋण लिनु पर्ने प्रावधान छ । बाँकी ५० प्रतिशत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले दिने गर्छ । त्यसले गर्दा पनि अनुदानको दुरुपयोग नहुने उनको ठम्याई छ ।
हाल अर्थतन्त्र धरासायि अवस्थामा छ। कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो। कृषिमा पनि पशुपन्छी व्यवसायको आफ्नै किसिमको महत्वपूर्ण स्थान रहेको छ । प्रोटिनको महत्वपूर्ण स्रोत तथा आधारशीला नै पशुपन्छी हुन् । पशुपन्छीको संरक्षण तथा संवद्र्धनको लागि सम्बन्धित निकायहरूको पशुपन्छीको आँकडालाई तदारुकताका साथ राख्नुपर्ने आवश्यकता देखिएका कारण पनि पशुपालनमा लगानी गरेको कृषि विज्ञ खड्का बताउँछन्।
ग्रामीण क्षेत्रमा आय तथा रोजगार प्रवर्द्धन गरी गरिबी निवारण गर्नमा पशुपालन कार्यक्रमको महत्वपूर्ण योगदान रहनेछ । पशुपालनबाहेकका अन्य कृषकलाई पनि अप्रत्यक्ष रुपमा सहयोग मिल्न जान्छ । त्यस्तै, यो क्षेत्रको प्रवद्र्धन हुँदा अन्य पशुजन्य उत्पादनहरु प्रवद्र्धन गर्न पनि यसले सहयोग गर्छ । नयाँ नयाँ अनुसन्धान र विकास अघि बढ्दै जाने हो भने भोलिलका दिनमा उच्च नश्ल भएका गाईभैंसी विदेशमा बिक्री गरी प्रशस्त विदेशी मुद्रा आर्जन गर्नसक्ने अवस्था पनि रहने उनको विश्वास छ।
साढे दुई बिघामा घाँस खेती
हिजो आज व्यावसायिक रूपमा पशु पालन गर्ने मानिसहरू धेरै भेटिन्छन् । तर, पशुपालन गर्ने किसानहरूका लागि एकदमै महत्त्वपूर्ण मानिने घाँस खेती गर्ने किसान भने कमै भेटिन्छन् । जसका कारण व्यवसायबाट नै पलायन हुनु पर्ने अवस्था आउने गरेको धेरै उदाहरण छन् । तर, जसले एनएलएसआईपीबाट अनुदानबाट पशु पालन सुरु गरेका छन्, उनीहरूलाई भने त्यो दिन कहिले पनि आउँदैन । किन भने एनएलएसआईपीले अनुदान रकम दिनु नै कसरी पशु पालन गर्ने भन्ने जानकारी दिन्छ।
कसरी घाँस रोप्ने, पशुका लागि कस्ता घाँस रोप्ने भनेर जानकारी दिने हुनाले गाई भैंसी पालनमा घाँसको समस्या नभएको सचिव भण्डारीले बताए। जसका कारण किसानहरूले राम्रो आम्दानी गर्न सक्षम भएका छन् । पहिला पहिला भाई भैंसी पालन गर्दा घाँस सम्बन्धि ज्ञान नहुँदा उत्पादन वृद्धि नभएको रहेछ भन्ने अनुभव भएको उनी बताउँछन्। ‘कुनै समय जङ्गली घाँस मात्र खुवाउने किसानले अहिले आफैले पोसिलो घाँस रोपेर खुवाउने गरेका छन् । जसले गर्दा उत्पादनमा वृद्धि भएको छ,’ उनले भने,‘जङ्गली घाँस र पोसिलो घाँस खुवाउँदा गाई भैंसीमा धेरै फरक पर्ने रहेछ ।’