neapl investment mega bank
  • गृहपृष्ठ
  • बाढी पहिरोका कारण ५० करोड बराबरको क्षति , उद्धारमा सास्ती

बाढी पहिरोका कारण ५० करोड बराबरको क्षति , उद्धारमा सास्ती

Jun 19th, 2023

काठमाडौ ४ असार

देशका विभिन्न भागमा आएको बाढी पहिरोका कारण जनजीवन प्रभावित भएको छ । गए राति ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, पाँचथरलगायत जिल्लामा बाढी पहिर सडक र पुलमा क्षति पुर्याउँदा करिब रु ५० करोड रकम बराबरको क्षति भएको भौतिक पूर्वाधार तथा यातायत व्यवस्था मन्त्रलयाले जनाएको छ ।

निरन्तर वर्षासँगै आएको बाढीपहिरोले ताप्लेजुङमा मानवीय क्षति हुनुका साथै विभिन्न संरचारको पूर्णरुपमा क्षति भएको छ । निरन्तर वर्षासँगै बाढीपहिरोले ताप्लेजुङमा ठूलो क्षति गराएको हो । शनिबार राति गएको बाढी पहिरोले ताप्लेजुङको सिदिङवा–५ मेहेलेमा एक युवकको मृत्यु भएको छ । तीनजना भने बेपत्ता रहेको छ ।

बेपत्ताको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पहिरोमा मैवाखोला गाउँपालिकामा एकजना घाइते भएका छन् । उनको उपचार भइरहेको छ । सिरिजङ्गा गाउँपालिकामा सात घर सिदिङवा गाउँपालिकामा २१ घर, मैवाखोला गाउँपालिकामा २१ र पाथीभरा याङवरक गाउँपालिका एक गरी ५१ घर परिवार उच्च जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

त्यस्तै सिरिजङ्गामा एक, सिदिङवामा एक र मैवाखोलामा एक गरी तीन पक्की मोटरेबल पुल पूर्णरुपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै ताप्लेजुङको विभिन्न क्षेत्रमा पाँच झोलुङ्गे पुल बाढीले बगाएको छ । पुल बगाएसँगै एक ठाउँबाट अर्को ठाउँमा जान समेत बन्द भएको छ । सिदिङवा, मैवाखोला र सिदिङवा गाउँपालिकामा गाई पाँच, भैँसी दुई बाख्रा आठ बाढीले बगाएको जिल्ला प्रशासशन कार्यालय ताप्लेजुङले जनाएको छ ।

त्यस्तै सिदिङवामा एक र सिरिजंगामा एक गरी दुई विद्युत् गृह पूर्णरुपमा क्षति भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरिजङ्गा–८ याम्फुदीनमा र ७ खेवाङमा गरी सात सरकारी कार्यालय पूर्ण रुपमा क्षति भएको छ । सिरिजङ्गा –८ मा सञ्चालन रहेको एक क्रसर उद्योगसमेत बाढीले बगाएको छ । त्यस्तै एक कुखुरा फर्म पूर्ण रुपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ । सिरिजङ्गा –८ याम्फुदीनमा एक सामुदायिक विद्यालयसमेत बाढीले बगाएको समितिले जनाएको छ ।

ताप्लेजुङमा आइतबार आन्तरिक तथा बाह्य यातायातका साधन सञ्चालन हुन सकेको छैन । निरन्तर वर्षासँगै विभिन्न क्षेत्रमा बाढीपहिरोले सडक अवरुद्ध भएपछि यातायात ठप्प भएसँगै बेपत्ताको लागि खोज तथा उद्धारकार्यका लागि सास्ती भएको हो ।

मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोला माथिको पुल बगाएपछि ताप्लेजुङ, पाँचथर, इलामसहित तराईका जिल्लातर्फ जाने सवारी साधन सदरमुकाममा थन्किएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशुराम कार्कीले बताए। तमोर नदीसहित तमोर करिडोरअन्तर्गतका खोलामा बाढी आएकाले उक्त तमोर करिडोरको सडकसमेत अवरुद्धएकाले छोटो र लामो दूरीमा छुट्ने सवारी साधन ताप्लेजुङदेखि छुट्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच सरकारले कोसी प्रदेशमा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई तत्काल रु एक लाख राहत उपलब्ध गराउने भएको छ । आइतबार साँझ बसेको कोसी प्रदेश विपद् व्यवस्थापन सममितिले बाढीपहिरोबाट ज्यान गुएमाएको परिवारलाई रु एक लाख दिन निर्णय गरेको हो ।