neapl investment mega bank
  • गृहपृष्ठ
  • बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी र उद्धार कार्य तत्काल गरिनेछ: प्रधानमन्त्री

बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी र उद्धार कार्य तत्काल गरिनेछ: प्रधानमन्त्री

Jun 19th, 2023

काठमाडौँ ४ असार

विगत केही दिनयता आएको बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्धार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिहरूको टोलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भेट गर्दै प्रधानमन्त्री दाहालले प्राकृतिक प्रकोपको खतरा अहिले पनि विद्यमान रहेकाले सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताए ।

ताप्लेजुङ र पाँचथरका राजनीतिक दलका नेता र जनप्रतिनिधिहरूले ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको जानकारी गराउँदै तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाँडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन आग्रह गरेका थिए ।

यस्तै, सडक र पुल भत्किएका ठाउँमा तत्काल वैकल्पिक कनेक्टिभिटी जोड्न सरकारको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री दाहालले क्षतिको सम्पूर्ण विवरणबारे आफू जानकार रहेको र खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण राज्यसंयन्त्र परिचालन गर्न पहल लिइरहेको बताउँदै कनेक्टिभिटी टुटेको स्थानमा युद्धस्तरमा बेलिब्रिज निर्माण गर्न निर्देशन दिइसकेको बताए ।

प्रधानमन्त्री दाहालले तत्काल पहलकदमी लिन गृह, रक्षा र भौतिक मन्त्रालयलाई निर्देशित गरेको बताउँदै खाद्यान्न, आवास र स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री तत्काल पठाउने जानकारी दिए ।