neapl investment mega bank
  • गृहपृष्ठ
  • चालु बजेटको ११ महिनामा ११ खर्ब ७६ अर्ब छ करोड खर्च

चालु बजेटको ११ महिनामा ११ खर्ब ७६ अर्ब छ करोड खर्च

Jun 16th, 2023

काठमाडौँ १ असार

चालु आर्थिक वर्ष २०७९ ८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत देखिएको छ । सुरुआती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको सरकारी आम्दानी र खर्च निकै न्यून हो ।

महालेखा नियन्त्रक कार्यालयको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिसम्ममा बजेट खर्च रु ११ खर्ब ७६ अर्ब छ करोड ५७ लाख बराबर छ ।

चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो । जेठ मसान्तसम्मको चालुगततर्फको खर्च सुरुआती विनियोजनको ७४ दशमलव १५ प्रतिशत बराबर छ ।

जेठ मसान्तसम्मको राजस्व सङ्कलन पनि लक्ष्यभन्दा निकै न्यून छ । यो अवधिसम्मका सरकारको कुल राजस्व प्राप्ति वार्षिक लक्ष्यको ६० दशमलव ३६ प्रतिशत अर्थात् रु आठ खर्ब ८० अर्ब ३८ करोड ७९ लाख बराबर रहेको छ ।

चालु आर्थिक वर्षका लागि चालुगत शीर्षकमा रु ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बराबर बजेट विनियोजन भएकामा हालसम्म रु आठ खर्ब ७७ अर्ब ३९ करोड ४४ लाख खर्च भएको छ भने पुँजीगत शीर्षकमा रु तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाखको वार्षिक बजेट रहेकामा जेठ मसान्तसम्ममा ४० दशमलव २४ प्रतिशत अर्थात् रु एक खर्ब ५३ अर्ब आठ करोड ४२ लाख बराबर खर्च भएको छ ।