तारा वाग्ले
काठमाडौ ३० जेठ
निजामती कर्मचारीहरु कतिसम्म अटेरी छन् र आफ्नो मनोमानी गर्छन भन्ने कुरा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा केहिबेर निरीक्षण गर्दा प्रष्ट हुन्छ । सर्वसाधारण सेवाग्राहीबाट मात्र होइन कर्मचारीवृतबाटै कर्मचारीहरु समयमा नआउने र कार्यालयमा समेत नभेटिने गरेको गुनासो दिनुहुँजसो आउँछ । कर्मचारीको अनुशासन र आचरणमा निरन्तर प्रश्न उठेपछि गरिएको छड्के निरीक्षणमा एउटा मन्त्रालयमा मात्र एकै पटक १०३ जना कर्मचारी कारबाहीमा परेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार आन्तरिक छड्के अनुगमन गर्दा १०३ कर्मचारीहरु कारबाहीमा परेका हुन । कर्मचारी प्रशासनको समग्र व्यवस्थापन र सुधारको जिम्मेवारी पाएको मन्त्रालयमा कार्यरत कर्मचारी समेत नियमित कार्यालयमा नभेटिने अवस्था छ भने अन्य कार्यालयमा त झन् कार्यालय समयमा कर्मचारीलाई भेट्नै मुस्कील पर्छ ।
कर्मचारी प्रशासनमा देखिएका वेथिति हटाएर समग्र प्रशासनलाई मर्यादित र अनुशासित बनाउन आवस्यक नीति नियम बनाउने र त्यसको पालना गराउने केन्दी्रय थलो हो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । विभागिय मन्त्री अमनलाल मोदीले पनि कर्मचारी प्रशासन सुधार्न तथा कर्मचारीहरुलाई अनुशासन पालन गराउन निरन्तर पहल गरिनै रहनु भएको छ । तर पनि त्यही मन्त्रालयमा कार्यरत कर्मचारी सबैभन्दा अटेरी छन् । मन्त्रीको निर्देशन सोही मन्त्रालयका कर्मचारीले पालन गर्दैनन् ।
मन्त्रीको निर्देशन अनुरुप काम नभएको गुनासो बढेपछि मन्त्री अमनलाल मोदीले सचिव कृष्णहरि पुष्करलाई आन्तरिक छड्के गर्ने निर्देशन दिनुभएको थियो । मन्त्रीको निर्देशन अनुसार,सामान्य प्रशासनका सचिव डा। कृष्णहरि पुष्करले सोमबार आन्तरिक छड्के निरीक्षण गर्दा १०३ जना कर्मचारी अनुपस्थित रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
छड्के निरीक्षण गर्दा सबैभन्दा बढी नासु र सहायक स्तरका कर्मचारीहरु कारबाहीमा परेका छन् । मन्त्रालयका अनुसार ४३ जना नासु र सहायकस्तरका कर्मचारी, ३६ जना अधिकृत, २३ जना उपसचिव र १ जना सहसचिव तहका कर्मचारी गरी सय ३ कर्मचारी कारबाहीमा परेका हुन् । मन्त्री मोदीको निर्देशनमा गरिएको छड्के जाँचका क्रममा बिहान सवा १० बजेसम्म पनि कार्यालय उपस्थित नभएका कर्मचारी कारबाहीमा परेका हुन् । अनुपस्थित कर्मचारीलाई कारबाही स्वरुप कर्मचारीको सोमबारको हाजिरीमा रातो लगाइएको छ ।
मन्त्री मोदीले कर्मचारीतन्त्रमा सुशासन कायम गर्ने विषय नै आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै आफूले सम्हालेका मन्त्रालयका कर्मचारीमाथि कारबाही प्रारम्भ गरिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार अवदेखि बिहानको सवा १० बजेसम्म पनि कार्यालयमा उपस्थित नभएका कर्मचारीको हाजिरीमा रातो लगाउने प्रक्रिया थालिएको छ ।
सो मन्त्रालयमा सेवा लिन आउने सेवागा्रहीहरुमध्ये धेरैजसो सेवाग्राहरुहरु विभिन्न सरकारी निकाय वा मन्त्रालयमा कार्यरत निजामती कर्मचारी नै हुन्छन् । कर्मचारीहरुले समेत कर्मचारीको गल्ती औल्याएर सुधार गर्नुपर्ने आवाज उठाएपनि सो आवाज सामान्य प्रशासन मन्त्रालयमा कार्यरत कर्मचारीको कानसम्म पुगेको छैन ।
त्यसो त सरकारी निकायमा हुने अनियमितता र कर्मचारीको वेथितिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले अनुगमन गर्ने दर्जनौ निकाय छन् । राष्ट्रिय सतर्कता केन्द्रले नियमित रुपमा सरकारी कार्यालय र कर्मचारीको अनुगमन गर्दै आएको छ । केन्द्रले सार्बजनिक निकायहरुबाट हुने अनियमितता, ढिला सुस्ती, भ्रष्ट्राचार सम्बन्धमा उजुरी संकलन गर्ने सार्बजनिक निकायहरुबाट प्रदान हुने सेवा प्रबाह प्रभाबकारी तुल्याउन नियमन, अनुगमन गरि सुझाब, निर्देशन दिने, सार्बजनिक पद धारणा गरेका व्यक्तिहरुको सम्पति र आयको अनुगमन गर्ने, विभिन्न सरकारी कार्यालयमा हाजिरी, पोशाक, सिट छड्के जस्ता सुधारत्मक कार्यहरु गर्ने गरेको छ ।
केन्द्रले बेलाबेलामा छड्के अनुगमन गरी कारबाहीको सिफरिस पनि गर्दै आएको छ । तर कर्मचारीहरुले भने न त केन्द्र वा मन्त्रीको निर्देशन पालन गर्छन न त कानुनको । सार्वजनिक सेवामा प्रवेश गर्ने व्यक्तिले सेवासम्बन्धी कानुनमा उल्लेख भएको आचरण पालना गर्नुपर्छ । निजामती सेवा ऐन, २०४९ को परिच्छेद ७ मा कर्मचारीले पालना गर्नुपर्ने समयपालन र नियमितता, अनुशासन र आज्ञापालन गर्नुपर्ने उल्लेख छ ।
ऐनको को दफा ४९क। मा निजामती कर्मचारीले गर्न नहुने, पूर्वस्वीकृति लिएर गर्न हुने र स्वीकृतिबिना स्वतन्त्र रूपमा गर्न मिल्ने क्रियाकलापबारे उल्लेख छ । त्यस्तै निजामती सेवा नियमावली, २०५० को परिच्छेद १६ मा निजामती कर्मचारीले पालना गर्नुपर्ने विभिन्न आचरण र नैतिक दायित्वबारे उल्लेख गरिएको छ । त्यस्तै निजामती कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ ले पनि कमर्मचारीले पालन गर्नुपर्ने आचरणहरु स्पष्ट तोकोको छ । तर कर्मचारीले यस्ता कानुनी व्यवस्थाको मर्यादा समेत राखेको पाइँदैन । स्वतन्त्र समाचार