neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

May 17th, 2023

काठमाडौँ ३ जेठ

नागरिक उन्मुक्ति पार्टीले टीकापुर घट्नाको मुद्दालाई राजनीतिक तवरबाट समाधान खोज्न सरकारसमक्ष आग्रह गरेको छ ।

टीकापुर घटनाका आरोपित रेशम चौधरीसहितलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेपछि आज ९बुधबार० नाउपाले पत्रकार सम्मेलन गरी आफ्ना माग सरकारले सम्बोधन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिनेसमेत चेतावनी दिएको छ ।

लाल आयोग प्रतिवेदन सार्वजनिक गर्नुपर्ने नाउपाको माग छ । रेशमलगायतका राजवन्दी हत्यारा भेटिएमा फाँसी दिने ऐन बनाएर फाँसी दिन पनि आग्रह गरिएको छ । सरकारलाई दिएको समय सीमाभित्र प्रतिवेदन सार्वजनिक नभएर आफूहरुको माग सुनुवाई नभएको खण्डमा चरणबद्ध आन्दोलनमा उत्रिने पनि नागरिक उन्मुक्तिको चेतावनी छ ।

‘अब सरकारसँग हाम्रो माग मात्र २ वटा छ । एक सम्मानित सर्वोच्च अदालतले लाल आयोग प्रतिवेदनलाई सार्वजनिक गर्न दिएको आदेश पालना गर्नुपर्छ र लाल आयोग प्रतिवेदन सार्वजनिक गरिनुपर्छ । दोस्रो, यदि रेशमलाल चौधरीलगायतका राजवन्दी हत्यारा हुनभने फाँसी दिने ऐन बनाएर रेशमलाल चौधरीलाई फाँसी दिए हुन्छ ।’ विज्ञप्तिमा भनिएको छ,‘यदि लाल आयोग प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन ।’

टिकापुर आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन भएको नागरिक उन्मुक्ति पार्टीको ठहर छ । उक्त आन्दोलनसँग जोडिएका मुद्दाहरुको समाधान राजनीतिक तवरबाट नै हुनुपर्ने नउपाको माग छ । तीन दिने समय सीमाभित्र सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेको खण्डमा आन्दोलनमा उत्रिने नाउपाले चेतावनीसमेत दिएको छ । नाउपाले आजैदेखि देशव्यापी रुपमा जेठ ५ गतेसम्म राँके जुलुस प्रदर्शनको कार्यक्रम सार्वजनिक गरेको छ । त्यसैगरी, जेठ ६ गतेदेखि जेठ १० गतेसम्म नेपाल बन्दकोसमेत घोषणा गरिएको छ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नाउपाका नेता लक्ष्मण थारुले राज्यले देशको धेरै ठूलो जनसंख्या भएको समुदायलाई नै आतंकवादी जत्थाको रुपमा व्याख्या गरेको भन्दै आपत्ति जनाए । थरुहट आन्दोलन राजनीतिक एजेन्डा र मुद्दा बोकेको आन्दोलन भएको उनको भनाई छ । आन्दोलनमा गएकै कारण हिंसाका आरोप लगाएर जेल हाल्ने हो भने लाखौं थारु, बाहुन, क्षेत्री र मधेशीहरु जेल जान तयार हुनपर्ने उनको भनाई छ ।