neapl investment mega bank

नगर प्रहरीले फेरेको ललितपुरको मुहार

May 6th, 2023

काठमाडौं, बैशाख २३

‘महानगर प्रहरी’– यो शब्द सुन्ने बित्तिकै फुटपाथ व्यापारिलाई लेट्ने, सामान खोस्ने याद आउन सक्छ। आउन् स्वभाविक पनि हो। काठमाडौं महानगरले अहिले यहि गरिरहेको छ। तर, काठमाडौं महानगरसँगै जोडिएको अर्को महानगरपालिका ललिपुरमा भने ‘महानगर प्रहरी’ को परिचय बेग्लै छ। महानगर प्रहरीले सहजै आफ्नो परिचय फेरेको भने होइन। महानगर प्रहरीको पहिलो काम थियो–फुटपाथ व्यवस्थापन। केहि वर्ष अघिसम्म नगर प्रहरी र फुटपाथ पसलेहरू दिनचर्या मुसा–बिरालोको खेल जस्तो थियो। नगर प्रहरी देख्ने बित्तिकै फुटपाथ व्यवसायिहरू आफ्नो सामान बोकेर दुलो भित्र पस्थे भने प्रहरी नदेख्ने बित्तिकै फेरि बाहिर निस्कन्थे।

कहिलेकाहीँ दशा बिग्रिएको बेला त प्रहरीले समातेर झ्याइँकुटी पार्दै सामानसम्म सोहोर लैजान्थे। जरिबाना तिरेर फिर्ता भए नि सामान दुरुस्तै भने पाइन्थ्यो । यस्ता धेरै अनुभव बटुलेकी छिन्–ललितपुर जाउलाखेलको पेटिमा साग बेचेर गुजारा गर्ने सीतादेवीले। ‘साग बेचेर गुजारा गरेको १० वर्ष भइसक्यो,’ आफ्नो अनुभव सुनाउँदै भन्छिन्, ‘केहि वर्ष अघिसम्म लठ्ठी बोकेर, गुटुङ्टुङ बिहान बेलुका प्रहरी आउँथे। प्रहरी देख्ने बित्तिकै सामाग बोकेर दुलो भित्र पस्नुपथ्यो। कहिलेकाहि भेट्टायो भने सबै सामान लगिदिन्थ्यो। चुल्हो बाल्न एकदमै समस्या थियो।’ त, अहिले स्थिति फेरिएको छ । किनकी नगर प्रहरीले फुटपाथ व्यवस्थापन मात्र होइन, हरेक जिम्मेवारी, काम कारवाहीमा आकाश पातालको भिन्नता ल्याइसकेको छ। अहिले नगर प्रहरीले फुटपाथ पसल राख्न एउटा नियम बनाएको छ । बिहान ८ बजेसम्म र बेलुका पाँच बजेपछि यस्ता पसल सञ्चालनमा अनुमति दिइएको छ । जसले गर्दा महानगर र फुटपाथमा गुजारा गर्ने सबैलाई सहज भएको ललितपुर महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख सीताराम हाछेथु। उनले कार्यकाल सम्हालेदेखि फेरिएको छ, ललितपुर महानगरको मुहार। उनले नगर प्रहरी हेर्ने दृष्टिकोण नै फेरेका छन्।

‘म आउनु अघि नगर प्रहरीले लट्ठी बोक्ने काम गर्थे । किन लट्ठी बोकेको भन्दा भनेको मान्दैनन् अनि उनीहरु साइकल, रिक्सा तथा स्याउ, केरा र मेवामा लट्ठीले हानेपछि भाग्छन् भन्ने जवाफ पाए,’ उनी सुरुका अनुभव सुनाउँछन्, ‘लट्ठी भनेको हतियार हो, त्यसकारण अब नगर प्रहरीले लट्ठी बोक्न नपाउने नियम लागु गरे । अहिले कोहि पनि ललितपुरका नगर प्रहरीले लट्ठी बोक्नु हुन्न्।’ सुरु सुरुमा नगर प्रहरीले लट्ठी नबोक्दा हामीलाई आक्रमण गर्छन भन्थे। तर, उनलाई लाग्थ्यो– राम्रो काम नगरेकोले आक्रमण गरेको हो राम्रो काम गरेपछि त फूलमाला लगाउँनेछन् । उनी अहिले सहि सावित भएका छन्। नगर प्रहरी भनेको फुटपाथको सामान लुट्ने भन्ने एउटा आम बुझाइलाई परिवर्तन गरिदिएका छन्।

‘धनीले त पसल राख्ने क्षमता राख्छन्, गरिबले के गर्छ त ? भोकै बस्ने?’ उनी प्रश्नको शैलीमा भन्छन्, ‘यो देश सबैको हो। सबैले सहज तरिकाले गरिखान पाउँनु पर्छ। व्यापरि मात्र होइन। कोही उपभोक्ताले महलमा गएर किन्नसक्ने क्षमता राख्दैन भने के उसले भोकै नाङ्गै बस्ने?’ त्यसपछि उनले कुमारीपाटी, लगनखेल लगायतका ठाउँमा व्यवस्थित तरिकाले फुटपाथ पसल राख्ने नियम बनाए। र, अहिले पनि व्यापारिहरू नियम अनुसार व्यवसाय गर्छन्। ‘पहिले नगरपालिकाको गाडी आएपछि सबैजना भाग्थे, गाडी गएपछि फेरि फर्किन्थे । मैले त्यस्तो गर्न रोक लगाएँ । बिहान ८ बजेसम्म र बेलुका पाँच बजेपछि चोकचोकमा समस्या नगरीकन तरकारी पसल राख्न दिएका छौँ । लगनखेलको बस पकेट हटाएर त्यहाँ तरकारी र फलफूल पसल व्यवस्थित गराएका छौँ,’ उनले फुटपाथ व्यवस्थापनबारे प्रस्ट्याए ।

वान वे
कोटेश्व बस्ने महेश्वर लामा ललितपुरको पाटनढोका नजिकै पसल गरेर गुजारा गर्दै आएका छन्। पसल चलाउन थालेको करिब ७–८ वर्ष भइसक्यो। केहि वर्ष पहिलासम्म ललितपुरको मुटुमा रहेको पाटनढोका क्षेत्र सवारीसाधनको चाप र जामले आक्रान्त हुन्थ्यो । अफिस जाने र फर्कने समयमा उनलाई पसल पुग्न निकै कष्टकर हुन्थ्यो। तर, केहि वर्ष यता स्थिति फेरिएको छ । महानगरपालिकाले सो क्षेत्रमा निश्चित समयका लागि चार पाङ्ग्रे सवारी साधनलाई निषेध गरी वान वे बनाउनुका साथै अव्यवस्थित पार्किङलाई व्यवस्थापन गरेको छ। जसले गर्दा सर्वसाधरणलाई धेरै सहज भएको उनी बताउँछन्। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको निर्देशनमा तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा यस्तो व्यवस्था गरिएको हो।

‘पहिले र अहिलेको महानगरमा आकाश पातालको फरक छ। महानगरले धेरै राम्रा–राम्रा काम गरेको छ,’ लामा अनुभव सुनाउँछन्। महानगरपालिकाको भित्री सडकमा बढेको सवारी चापले आवगमनमा समस्या उत्पन्न भएपछि मेयर महर्जनको विशेष पहलमा यस्तो व्यवस्था गरिएको हो। ट्राफिक जामले विश्व सम्पदा क्षेत्रको प्रवेशद्वार नै कुरुप बन्ने गरेको थियो । त्यसमाथि ध्वनी प्रदूषण, धुँवा–धुलोले स्थानीयहरु आक्रान्त बनेका थिए। वान वे लागू गरिएपछि यस क्षेत्रको ट्राफिक समस्या हल हुनुका साथै अव्यवस्थित पार्किङ लगायतको समस्या हल भएको र सर्वसाधारणले दैनिकरुपमा खेप्नु पर्ने समस्याबाट राहत पाएका छन्। वान वे लागु पाटनढोकामा मात्र होइन, बखुण्डोल, प्रयाग पोखरी, मंगलबजार, महापाल लगायतका क्षेत्रमा लागू गरिएको छ।

निःशुल्क पार्किङ
परिवर्तनका कुरा भन्न जति सजिलो छ गर्न उत्तिकै गाह्रो । नगर प्रहरीको व्यवहार, उनीहरुको क्रियाकलाप तथा काम कारबाहीमा परिवर्तन ल्याउन नगर प्रमुख हाछेथुलाई पनि धेरै नै गाह्रो भयो । तर, ट्राफिक प्रहरी तथा प्रहरी बलमा पनि थुप्रै अनुभन बटुलेका हाछेथुले परिवर्तन नल्याइ नछोड्ने अठोन गरे। जसले गर्दा उनी प्रहरीलाई हामी जागिर आएको होइन सेवा गर्न आएको भन्ने भावनाको विकास गर्न सफल भएका छन्। अहिले महानगर र नगर प्रहरीको सक्रियतामा २१ ठाउँलाई निःशुल्क पार्किङ स्थल घोषणा गरिएको छ । जसमा मानभवन, कुमारीपाटी, पाटन अस्पताल अगाडि, महालक्ष्मीस्थान, बटुकभैरव, एकान्तकुना यातायात, जावलाखेल स्टिल टावर अगाडि, भनिमण्डल लगायतका स्थान छन् ।

केटाकेटीलाई कापी, कलम किन्न आउने अनि एक प्लेट मःम लिन आउने नगरवासीसँग त्यो भन्दा धेरै पार्किङ लिएर कति ढाड सेक्ने भनेर उनले निःशुल्क पार्किङको अवधारणा ल्याएका हुन्। ‘अहिले हरेकको साथमा साधन छ। केहि सामान किन्न प¥यो भने एकैछिन रोक्दा पनि पैसा तिर्नुपर्ने। यसरी दैनिक खर्च हुने,’ उनी भन्छन्, ‘त्यसकारण पनि हामीले निशुल्क पार्किङको व्यवस्था गरेका हौं। अहिले धेरै साहत मिलेको छ।’

ठाउँ ठाउँमा पार्क
महानगरले झम्सीखेल, जावलाखेल लगायतका ठाउँमा पार्क पनि निर्माण गरेको छ । जसले गर्दा मान्छे एकछिन भए पनि सुस्ताउन पाएका छन्।। अहिले मान्छेलाई एकछिन आराम गर्न परे पनि चिया पसलमा गएर मन नलागे पनि चिया खाएर पैसा खर्च गर्नुपर्ने स्थिति छ । हाछेथु भन्छन्, ‘हामी यो प्रवृत्तिको अन्त्य गरेका छौं।’

धूम्रपान निषेध क्षेत्र

ललितपुर महानगरलाई धूमपान सेवन निषेध क्षेत्र बनाइएको छ। नगरप्रमुख महर्जनले पाटन, पुल्चोक, जावलाखेल र लखनखेल धूमपान निधेष क्षेत्र घोषणा गरेका छन्। जसका लागि नगर प्रहरीले प्रत्येक घरमा गएर सुर्तीजन्य पदार्थ सेवन विरुद्धको अभियान सञ्चालन गरेका छन्। ‘विद्यालयका विद्यार्थी र टोलमा युवालाई समेटेर धूमपान निषेध अभियान सञ्चालन गरेका छौं,’ प्रमुख हाछेथु भन्छन्,‘ धूम्रपानले धेरै असर गर्छ। सार्वजनिक स्थानमा धूम्रपानले खानेलाई मात्र होइन। नखानेलाई पनि उत्तिकै असर गर्छ।’

धूमपानको सेवन नगर्ने हो भने अहिले मृत्यु हुने भन्दा ५० प्रतिशत मानिसको ज्यान जोगाउन सकिन्छ। अब ललितपुरको अन्य क्षेत्रहरुलाई पनि धूम्रपान निषेधित क्षेत्र घोषणा गर्दै जाने योजना रहेको उनी बताउँछन्। उनीहरू आफै सूर्तिजन्य पदार्थ सेवन नगरिदिन आग्रहसहित घर–घरमा पुग्ने गरेका छन्। उनी भन्छन्,‘चुरोट, सूर्तिजन्य पदार्थ नखाइदिनुहोस् भनेर आग्रह गर्दै घर–घरमा पुग्ने गरेका छौं। यो काम सहज होइन। तर हामीले गरिरहेका छौं। र, आगामी दिनमा पनि गर्ने छौं।’ साथै, गाडीमा स्टिकर टास्ने अभियान समेत चलाएको छ। स्टिकरमा लेखिएको छ– आज म जलिरहेको छु तपाईंका कारणले, भोलि तपाईं जलिरहनु हुनेछ मेरो कारणले।

यति मात्र होइन

नगर प्रहरीको काम फुटपाथ हटाउने, पार्किङको मात्र होइन। उनीहरूले नगरलाई सफा र सुन्दर राख्ने काममा पनि उत्तिकै भूमिका खेलिरहेका छन्। नगर प्रहरीले अहिले बाटोमा फोहोर देख्दा उठाउँछन् । घर बनाउँदा फोहोरहरु फुटपाथमा राखिएका हुन्छन्, त्यो उठाएर घर बनाउने ठाउँमा राखिदिन्छन् । कुनै बेला फुटपाथ प्रहरी भनिने नगर प्रहरीले जात्रा, चाडपर्वमा सुरक्षा दिन्छन् । ललितपुर महानगरपालिकाको नगर प्रहरीले सडकको स्पिड ब्रेकर हटाएर दुर्घटना न्यूनीकरणमा टेवा पुर्याएको छ । उनीहरुले अल्झिरहेको तार बाँध्नेदेखि फुटपाथ अतिक्रमण गरेर बनाइएका ट्रस काट्ने काम समेत गर्छन् । ललितपुर महानगरपालिकाका मेयर तथा उपमेयरको सुरक्षार्थ पनि नगर प्रहरी नै खट्ने गर्छन् । यस्तै, रुख काँटछाँटका कामहरु पनि नगर प्रहरीकै जिम्मामा छ । पाटी पौवाको सरसफाई पनि नगर प्रहरीले नै गर्दै आएका छन् । त्यसैले ललितपुर उपनगरपालिकाको खम्बा ‘नगर प्रहरी’ लाई भनिन्छ। यहाँका नगरप्रहरी ललितपुरलाई स्वच्छ, सफा राख्न र जनताका लागि काम गर्न सदा तत्पर छन् ।