काठमाडौं, बैशाख ८
राष्ट्रिय सहकारी बैंक (एनसीबीए) ले ब्याजदर घटाएको छ । शुक्रबारदेखि लागू हुनेगरी बैंकले बचत र कर्जा दुबैको ब्याजदर घटाएको हो ।
बैशाख ८ गते शुक्रबारदेखि साधारण बचत, सुपर बचत, एनसीबीएल बचत खाता, एनसीबीएल प्रिमियम बचत खाता, अनिवार्य नियमित बचत, क्रमिक बचत र मुद्दती निक्षेपमा ४.२५ प्रतिशतदेखि ११.७५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ ।
त्यस्तै बैंकले कृषि तथा परियोजना कर्जा, मौसमी कर्जा, पर्यटन, घर घडेरी खरिद तथा भवन निर्माण कर्जा र उत्पादन प्रशोधन लगायतको शीर्षकमा १०.५० प्रतिशतदेखि १३.२५ प्रतिशतसम्म ब्याजदर लिने जनाएको छ ।
यसअघि सहकारी बैंकले मुद्दती निक्षेपमा अधिकतम १३.५० प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले कर्जामा १४ प्रतिशतसम्म ब्याजदर कायम गरेको थियो । राष्ट्रिय सहकारी बैंकले झण्डै एक वर्षपछि नयाँ ब्याजदर कायम गरेको हो ।