ललितपुर ५ बैशाख
धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक, मन्दिरै मन्दिरको नगरीको रुपमा परिचित ललितपुर महानगरपालिकाल नगरभित्रका हस्तकला सामग्रीहरुको प्रवद्र्धनका लागि यल कोसेली घर सञ्चालनमा ल्याएको छ ।
काठमाडौं उपत्यकाको प्रसिद्ध तीन शहरहरु मध्ये ललितपुर सवभन्दा पुरानो शहर मानिने सो महानगरपालिकाले हस्तकला सामग्रीहरुको प्रवद्र्धन तथा पर्यटन क्षेत्रको विकासका लागि ललितपुर हस्तकला सङ्घको व्यवस्थापनमा सञ्चालन हुनेगरी महानगरले बैशाख ५ गतेदेखि उक्त कोसेली घर सञ्चालनमा ल्याएको हो ।
नेपालको जेष्ठ नगरपालिका ललितपुर महानगरपालिकाले यस शहरलाई प्राचीन कालदेखि हालसम्म समय अनुसार विभिन्न माध्यामले चिनाउदै आएको छ । कोशेली घर पनि ललितपुरको प्रचारप्रसारकै लागि सञ्चालनमा ल्याइएको हो ।
कोसेली घर शुभारम्भ कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोसेली घरले बिक्री गर्ने हस्तकला सामग्रीमा गुणस्तरीयता कायम हुनुपर्ने बताए । ुकोसली घरले बिक्री गर्ने सामग्रीमा गुणस्तरको प्रत्याभूति हुनुपर्छ । अनि मात्रै हामीले ‘मेड इन ललितपुर’ भन्ने ट्याग लगाउनु उपयुक्त हुन्छ । गुणस्तर कायम गर्नेमा हामीले कुनै पनि सम्झौता गर्ने काम नगरौँु, नगरप्रमुख महर्जनले भने,अहिले ललितपुरमा आउने पर्यटकले बिताउने समय ज्यादै न्यून छ । उनीहरुको बसाइ लम्ब्याउन हामीले धेरै कामहरु गर्दै आइरहेका छौँ । अबदेखि ललितपुरमा प्रवेश गर्ने पर्यटकलाई यल कोसेली घरमा एक पटक प्रवेश गर्ने व्यवस्था मिलाउने छौँ ।
उद्घाटन कार्यक्रममा उपप्रमुख मञ्जली शाक्यले यल कोसेली घर हस्तकला सामग्री बिक्रीका लागि मात्रै नभएर व्यवयासी, हस्तकला उद्योगको प्रवर्द्धन र विकासका लागिसमेत सञ्चालनमा ल्याइएको बताइन् । ललितपुर हस्तकला सङ्घका अध्यक्ष रमेश सिंहले यल कोसेली घरमा बिक्री गरिने सामानको रेखदेख र गुणस्तर जाँचको जिम्मेवारी सङ्घले गर्ने बताउँदै गुणस्तरमा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाए ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले ललितपुर जिल्लास्थित सरकारी कार्यालयहरुले प्रदान गर्ने उपहार तथा मायाको चिनोका लागि यल कोसेली घरले बिक्री गर्ने हस्तकला सामग्रीहरु प्रयोग गर्न आग्रह गरे । महनगरपालिकाले हरेक शुक्रबार र शनिबार महानगरपालिका परिसरमा स्थानीय हस्तकला सामग्रीहरुको बिक्री बढाउन मेला सञ्चालन गर्दै आइरहेको छ । महानगरपालिकाले हस्तकला प्रवर्धन सम्वन्धी कार्यविधि अनुसार सो घर सञ्चालनमा ल्याएको हो । एड्भोटेरिएल