neapl investment mega bank
  • गृहपृष्ठ
  • भारत र चीनको रणनीति नबुझ्दा फस्यो नेपालः सरकारको लापरवाहीले भोकमरी लाग्ने संकेत !

भारत र चीनको रणनीति नबुझ्दा फस्यो नेपालः सरकारको लापरवाहीले भोकमरी लाग्ने संकेत !

Apr 16th, 2023

काठमाडौं, बैशाख ३
२०६९ सालमा मुलुकको प्रधानमन्त्री पदमा बाबुराम भट्टराई थिए । मुलुक हाँक्ने कुर्सीमा बसेका उनले त्यतिबेला एक कार्यक्रममा भनेका थिए,‘नेपाल चलाउने चाबी भारतको हातमा छ । भारतले जे चाह्यो यहाँ त्यही हुन्छ ।’ प्रधानमन्त्री हुँदाको तीतो अनुभव उनले सुनाए । नेपाली जनताले धेरै संघर्ष गरेर राजनीतिक परिवर्तन गरे । सो क्रममा धेरै शहिद भए । अहिलेको व्यवस्था ल्याउनका लागि जनताले निकै दुःखकष्ट गरेका थिए । राजनीतिक परिवर्तन भयो तर भारतको हस्तक्षेप गर्ने बानीमा परिवर्तन आएन् । नेपालको जुनसुकै मामिला होस्, भारतले आफ्नो नाक घुसाइहाल्छ । प्रश्न उठेको छ,‘भारतलाई नेपाल चलाउने रिमोर्ट दिने को हुन् त ?’ हाम्रो देशका नेताहरुले राष्ट्रभन्दा पनि सत्तालाई बढी महत्वमा राखे । सत्तामा जानका लागि भारतको सहयोग चाहिन्छ । भारतले जे भन्यो त्यही गर्छन्, यहाँका नेता । नेपालका राजनीतिक दललाई आफ्नो इशारामा नचाएर भारतले फाइदा उठाउँदै आएको छ । नेपालको अधिकांश जमिनमा भारतले कब्जा जमाइसकेको छ ।

कालापानी, लिपुलेकलगायत धेरै जग्गामा भारतले अतिक्रमण गरिरहँदा नेपाल सरकार रमिते बनेर टुलुटुलु हेरिरहेको छ । यता, चीनले पनि नेपालको साँध मिचेर नेपाली भूमिमा कब्जा जमाउँदै आएको छ । पुर्खाहरुले भनेअनुसार नेपाल यति सानो थिएन् । सत्तामा जानका लागि जमिन ने जिम्मा लगाउने काम भयो । राणाकालमा धेरै जमिन भारत र चीनले खाइदिएको बताइन्छ । मुलुकमा बहुदलीय व्यवस्था आएपनि अवस्था उही नै छ । अर्काको जमिनमा आँखा लगाउने क्रममा रोक लाग्न सकेको छैन् ।
हस्तक्षेप गर्ने त गरिहाल्यो, त्यतिले मात्र नपुगेपछि भारत र चीनले नेपाल सिद्धयाउने रणनीति बनायो । खेतीयोग्य जमिनमा घर र बाटो बनाउन सिकाउने यी दुई मुलुक हुन् । बाटो निर्माण गर्न लाग्ने सबै सामान उनीहरुले बेचे । त्यो बाटोमा चल्ने सवारी साधन बेच्ने पनि तिनै हुन् । नेपालमा पेट्रोल, डिजेलको खानी छैन् । इन्धनको खानी नै नभएको मुलुकमा यत्रो सवारी साधन छन् । केही कारणबस् नाकाबन्दी भयो भने यी गाडी कहाँ लगेर थन्काउने ।

खेतीयोग्य जमिनमा घर बनाउँदा खाद्यान्न सबै आयात गर्नुपर्ने भयो । नेपाल कुनै पनि चीजमा आत्मनिर्भर छैन् । खेतीयोग्य जमिन घरैघरले ढाँकिएको छ । अन्य मुलुकले खाद्यान्न पठाएन भने नेपाली भोकभोकै मर्छन् । यहाँ हाहाकार हुन्छ । घर बनाउन चाहिने सामान भारत र चीनले बेच्यो । एउटा सामान्य तारदेखि रंगसम्म आयात हुन्छ । सामान आयात गर्दै घर बनाउने कामले प्राथमिकता पायो । जसको असर क्रमशः देखिँदै छ । खेतीयोग्य जमिनमा घर ठड्याएर बोराको चामल किनेर खान सिकाइयो ।
नेपाल सरकारले चुइक्क बोल्यो भनेपनि यी दुई मुलुकले नाकाबन्दी गरिदिन्छन् । नेपालीहरु भोकभोकै मर्नुपर्ने दिन आउँछ । खाद्यान्नमा सरकार जहिलेपनि आत्मनिर्भर हुनुपर्छ । जुन मुलुक खाद्यान्नमा आत्मनिर्भर हुँदैन्, त्यहाँ विदेशी हस्तक्षेप बढिरहन्छ । नेपालमा पनि त्यही नै भएको हो । पहिलेपहिले दाउरामा खाना पकाइथ्यो । गोबर ग्याँसबाट पनि खाना पकाउने गरिन्थ्यो । तर, अहिले त सबैतिर ग्याँसको प्रयोग हुन्छ । दाउरा बालेर कसले खाना पकाउँछ ?

ग्याँसको मूल्य बढेको बढ्यै छ । अब दाउरामा पकाउँछु भन्दा पनि सम्भव छैन् । सबै रंगीविरंगी घर बनाइएको छ, कालो लाग्ला भन्ने डर । चीन र भारतले सम्झौता गरेर नेपाल डुबाउन खोजे । नेपाललाई उनीहरुको व्यापार गर्ने थलो बनाइयो । विडम्बना, नेपाल सरकारले बुझ्न सकेन् । बितिसकेको समय फर्केर आउँदैन् । सरकारले बेलैमा सोचविचार गरेको भए आज यस्तो जटिल परिस्थितिमा नेपाल फस्दैनथ्यो । भारत र चीनले नेपाल सरकारलाई अनुदान दिएको भनि ठूल्ठूला दाबी गर्दै आएको छ ।
एक सय रुपैयाँमा उत्पादन भएको सामानमा पाँच सय नाफा खाएर नेपाललाई बेच्ने काम हुँदै आएको छ । त्यही नाफाबाट आएको १० रुपैयाँ नेपाल सरकारलाई अनुदान दिन्छन् । नेपाल सरकार त्यति अनुदान पाएपछि मख्ख परिहाल्छ । नेपालीहरु विदेश गएर रगतपसिना नभनिकन पैसा कमाइरहेका छन् । त्यही पैसाले नेपाल सरकारले आफ्नो खर्च धानेको छ । परिवारको एक सदस्य विदेश गएर कमाउने अनि घरपरिवार यहाँ बसेर मोजमस्ती क्रम बढेको छ ।

उताबाट कमाएर ल्याएको रकम पनि सही ठाँउमा सदुपयोग भएको भए त हुने हो । विडम्बना, उनीहरु पनि घर बनाउने र मँहगामँहगा सामान किन्नतिर लाग्छन् । जसले गर्दा हाम्रो पैसा फेरिपनि उनीहरुले नै लगिरहेका छन् । भारत र चीनले केसम्म गरेन् ? विदेश जान सिकाउने नै यिनीहरु त हुन् । अलिकति पढेलेखेकालाई अमेरिका, अष्ट्रेलिया पठाइदिने । नपढेकाको दिमागमा नेपालमा केही हुँदैन् भन्दै खाडी मुलुक पठाइदिने । भएका खेत पनि बाँझै छन् । बुढाबुढी र बालबच्चा मात्रै नेपालमा छन् । अनि कसले उत्पादन गर्ने ? विदेशमा गएर मरिमरि कमाएको पैसासमेत भारत र चीनले नै लगिरहेको छ । चामल किन्यो भारतले व्यापार गरिहाल्यो । कुनै सामान खरिद गर्यो, चीनको व्यापार भइहाल्छ । बजारमा नेपाली उत्पादन केही पनि छैन् । नेपालीले पनि घर बनाउनबाहेक केही सिकेनन्, जानेनन् । दुई आना जग्गा किनेर पाँच तले घर बनाउने । गाडी किन्ने, घरभाडामा लगाएर बसिबसि खाने । यतिखेर मुलुकमा व्यापक आर्थिक मन्दी देखिएको छ ।

बहाल तिर्न नसकेपछि व्यवसायीहरुले सटर नै छोडिदिएका छन् । अधिकांश सटरहरु खाली छन् । अब घरधनीले के खाने ? हिजो पो बहालमा बस्नेलाई चुस्नुसम्म चुसेर मोटाएका थिए । उनीहरुले सटर र कोठा नै छोडिदिएपछि घरधनीहरुकै बेहाल हुने देखिएको छ । नेपालीहरुले घरजग्गाबाहेक अरु केही पनि देखेनन् । जग्गा दिनको दुई गुणा र रातको चार गुणा बढ्छ भन्ने सोच सबैमा देखियो । यता, कोठा बहालमा बस्नेलाई ठग्न पाउन भएपछि अरु के चाहियोस् । विदेश बसेर आएका हुन् कि सरकारी कर्मचारी सबै जग्गा किनेर घर ठड्याउनतिरै लागिपरे । भूमि सुधार मन्त्रालय र राष्ट्रिय भूमि आयोगले घरबाट उठेको राजस्व मात्र हेर्यो । छिमेकी मुलुकले खाद्यान्न पठाएन् भने नेपाली जनता मर्छन् भनेर सरकारले सोच्दै सोचेन् । घरजग्गामा आएको राजस्व हिसाब गर्ने अनि सार्वजनिक गर्ने काम मात्र भयो । घरजग्गाले राजस्व उठेको होला । तर, त्यो पैसाको सदुपयोग हुन सकेको छ ? भूमि मन्त्रालयले जति राजस्व उठाउँछ त्यसले खाद्यान्न आयात गर्न पनि पुग्दैन् ।

व्यापार घाटा दिनहुँ बढिरहेको छ । सरकारले जमिन ठुलो कि राजस्व ? जवाफ दिनुपर्ने भएको छ । नेपालको अर्थतन्त्र कमजोर छ भनेर सरकारले थाहा पाउन सकेन् । अर्थविद्हरु अन्जान थिए कि नौंटकी देखाए ? थाहा भएन् । अर्थतन्त्रलाई बाहिरबाट राम्रो देखाउने काम भयो । तर, सत्यतथ्य सरकारले देखाएन् ? अहिले आएर त्यसको असर देखिँदै छ । क्षणिकको आनन्द लिँदा अहिले मुलुक नै तहसनहस हुने अवस्थामा पुग्यो । सरकारले मालपोत कार्यालय र यातायात कार्यालयबाट उठेको राजस्वलाई आधार बनाएर बजेट तयार पार्यो । तर, त्यसरी बजेट बनाउनुहुँदैनथ्यो । किन कि घरजग्गाको मूल्य सँधै बढिरहन्छ भन्ने थिएन् । किनबेच सँधै एकै हिसाबले भइरहन्छ भनेर दाबी गर्ने सक्ने अवस्था थिएन् । बर्खामा जसरी भल आउँछ, यो क्षेत्र पनि त्यस्तै हो । सरकारले के सोच्यो,‘यातायात र मालपोतबाट राजस्व उठिरहन्छ । हामी मोजमस्ती गरिरहन्छौं । सरकारी कर्मचारीको तलब बढाउँछौं । भत्ता बढाउँछौं । सरकारी गाडी किन्छौं ।’ अन्य देशबाट नेपालले किन केही सिक्न चाहँदैन् । मरुभूमिमा खेतीपाती गर्ने मुलुकहरु पनि छन् ।

पानी, माटो ल्याएर खेतीपानी गरिरहेका छन् । विकसित मुलुकले सरकारकै स्वामित्वमा जग्गा राख्ने गरेको छ । जनताको स्वामित्वमा जमिन दिनुहुन्न भन्ने मान्यता विकसित मुलुकको सरकारमा छ । त्यही भएर त उनीहरुको देशले विकासमा फड्को मारेको छ । नेपालमा घरजग्गा दलाली नै सरकारमा छन् । जनप्रतिनिधिहरु सबै दलाली पृष्ठभूमिबाटै आएका हुन् । आफ्नो कारणले सरकार र जनतालाई क्षति पुग्छ भनेर उनीहरुले सोचेनन् । सरकारमा बस्नेहरुले नै नचाँहिदो काम गरे ।
भोलिका दिनमा भारतले नेपाल कब्जा गर्न खोज्यो भने के गर्ने ? नाकाबन्दी गरिदियो भने यहाँका जनताले के खाने ? अनि घर भत्काउन थाल्ने ? घर भत्काएर पनि काम भएन् । सामान फाल्ने ठाउँ चाहियो । खेतीयोग्य जमिनमा घर र बाटो बनाउन दिनुको परिणाम अबको पाँच वर्षमा देखिन्छ । सरकारले अझैपनि लापरवाही देखाउने हो भने यहाँ भोकमरी लाग्छ । माटो जनतालाई पाल्ने वस्तु हो, त्यसको संरक्षण गरौं ।