neapl investment mega bank
  • गृहपृष्ठ
  • देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता

देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता

Apr 8th, 2023

काठमाडौं, चैत २५

सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ अस्पतालसँग अनलाइन सम्झौता गरेको छ। योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता गरिएको हो।

सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ। अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लाभग्राही पछि दाबी गर्नुपर्ने झन्झटबाट मुक्त हुने कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिए।

नियमित योगदान गर्ने योगदानकर्ताले कोशी र मधेसका नौ/नौ, बागमतीका २०, गण्डकीका दुई र लुम्बिनी प्रदेशका चार गरी कोषको प्रणालीसँग जोडिएका ४४ अस्पतालमा कोषको परिचयपत्र देखाएर सुविधा लिन सक्नेछन्।

गत फागुन १ गते यता देशभरका विभिन्न १५ अस्पतालसँग अनलाइन सम्झौता भएको कोषले जनाएको छ। सम्झौता भएका अस्पतालबाट मात्र औषधि उपचारबापतको सुविधा भुक्तानी हुनेछ। त्यसबाहेक कोषमा सूचीकृत कुनै पनि अस्पतालमा उपचार गर्दा कोषको कार्यालयमा आवश्यक कागजात बुझाएर दाबी गर्नुपर्ने उनले बताए। आगामी दिनमा अस्पतालको आबद्धतालाई सङ्ख्यात्मक र गुणात्मकरुपमा बढाउँदै लैजाने कोषको प्रतिबद्धता छ।.

कोषले योगदानकर्तालाई औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना गरी चार प्रकारका सुविधा उपलब्ध गराउँदै आएको छ।