काठमाडौ/ एम्नेष्टी इन्टरनेसनलले राज्यले अधिकार संरक्षण नगर्दा महिलाहरू मारमा परेको तथा मानवताका निम्ति रहेका खतराहरू विरुद्धको विश्वव्यापी कारबाही खेदजनक रहेको बताएको छ । एम्नेष्टी इन्टरनेसनलले मानवअधिकार सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा मानव अधिकार हननका घटनामा कमी नआएको निष्कर्ष निकालेको हो ।
साथै एम्नेष्टी इन्टरनेशनलले एसिया प्रशान्त क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता र सङ्गठित हुन नपाउने अधिकार कुण्ठित गर्ने देशहरूमा नेपाल पनि रहेको बताएको छ। प्रतिवेदनले विभिन्न देशहरूले मानवअधिकार रक्षाको सवालमा निर्लज्ज भएर दोहोरो मापदण्ड स्थापित गर्दै गएको उल्लेख गरेको छ । विश्वभर असहमतिको निर्मम दमन भइरहेको,
नेपालको विषयमा प्रतिवेदनमा हास्य कलाकारको प्रस्तुतीमा सरकारले दोहोरो मापदण्ड बनाएको, मिटरब्याज पीडितहरूको आन्दोलनमा प्रहरी लगाएर निर्ममतापूर्वक दमन गरेको नागरिकता प्राप्ति गर्ने समान अधिकारबाट वञ्चित गरेको एम्नेष्टीको निष्कर्ष छ । मंगलबार सार्वजनिक भएको प्रतिवेदनमा विकसित र ठूला भनिएका देशले मानवअधिकारको विषयमा दोहोरो मापदण्ड देखाएको सार्वजनिक गरिएको छ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले नेपालको सबै सरकारले निरन्तर दमन गर्ने र असहिष्णु व्यवहार गर्ने गरेको बताउनुभयो। त्यस्तै कार्यक्रम संयोजक अस्मिता सापकोटाले मानव अधिकारका सवालमा विभिन्न देशले विषय अनुसार फरकफरक धारणा बनाएको र त्यसै अनुसार व्यवहार गरेर मानवअधिकार संरक्षणमा दोहोरो मापदण्ड बनाएको बताउनुभयो।
आज विश्वभर एकसाथ निष्कर्ष सार्वजनिक भएको प्रतिवेदनमा एसिया प्रशान्त क्षेत्रमा रहेका भारत, बंगलादेश, इण्डोनेसिया, नेपाल, पाकिस्तान, श्रीलंका र थाइल्याण्ड लगायतका देशहरूमा स्वतन्त्रता माग गर्नेहरू माथि सरकारले स्वेच्छाचारी गिरफ्तार गर्ने, लामो समय हिरासतमा राख्ने काम निरन्तर गरिरहेको तथ्य सार्वजनिक गरेको हो ।