काठमाडौं, चैत ११
राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालकहरु कानुनको दायरामा आउने भएका छन् । अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मीरा कर्माचार्यविरुद्ध एकैचोटि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा मुद्दा दर्ता भएको छ । गत चैत ८ गते दर्ता भएको मुद्दामा उनीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने माग राखिएको छ । सिन्सियरका तीन हर्ताकर्ताले घुस खाएर अंकुत सम्पत्ति जोडेको र उनीहरुलाई कारबाही गर्नुपर्ने माग राख्दै अख्तियारमा सी–०४८८०९ नम्बरमा र सम्पत्ति शुद्धिकरणमा ४४५५ नम्बरमा मुद्दा दर्ता भएको छ ।
सीधासाधीलाई उठीबास लगाएर उनीहरुकै सम्पत्तिमा तीन हर्ताकर्ताले रजाइँ गरेको उजुरी पत्रमा उल्लेख छ । निवेदकले गलत तरिकाले कमाएको सबै सम्पत्ति राष्ट्रियकरण हुनुपर्ने र उनीहरुलाई संस्थाको जिम्मेवारी पदबाट हटाएर कानुनको दायरामा ल्याउनुपर्ने माग लिएका छन् । हिजोको दिनमा फुट्या कौडी नभएकाहरु उक्त संस्थामा बसेर करोडौंको मालिक बनेको निवेदकले बताएका छन् । २०५७ मंसिर २९ गते दर्ता भएको सिन्सियरमा आउनुअघि केही नभएकाहरु रातारात मालामाल बन्नुको पछाडिको कारण निवेदकले खुलाएका छन् । नेपाली जनताले हालेको मुद्दामा उनीहरुको विगत र अहिलेको सम्पत्तिसमेत छर्लङ्ग पारिएको छ ।
राजेन्द्रभक्त इन्द्रचोकको निवासी हुन् । यहीको स्थायी बासिन्दा भएपनि सिन्सियरमा आउनुअघि उनीसंग जायजेथोको नाममा त्यस्तो केही पनि थिएन् । पैदल हिँडेर आउने उनी अहिले महाराजगञ्जमा करोडौं मूल्य पर्ने महलमा बस्छन् । मँहगामँहगा गाडी चढ्छन् । उनले सिन्सियरमै बसेर धेरै ठाँउमा जग्गा जोडेका छन् । उनको सम्पत्ति मूल्याकंन गर्ने हो भने ७० देखि ८० करोडको छ । यता, राजेश कँलकीका स्थायी बासिन्दा हुन् । पुर्ख्यौली सम्पत्ति २० लाखको नभएका उनी अहिले करोडौंमा गनिन्छन् । कंलकीबाट पुतलीसडक कहिले हिँडेर त कहिले साइकलमा आउने उनी मँहगो गाडी चढ्छन् । करोडौं मूल्य पर्ने घरमा बस्छन् ।
एउटा कार्यकारी सञ्चालक भएर उनले जोड्नुसम्म सम्पत्ति जोडेका छन्, कसरी ? उनको जग्गामा उत्तिकै लगानी छ । अन्य क्षेत्रमा पनि लगानी गरेका छन् । हाल उनको सम्पत्ति ४० देखि ५० करोड छ । २३ वर्षको अवधिमा यत्रो सम्पत्ति कमाउनुपछाडिको रहस्य हाल छरपस्ट भइसकेको छ । सिन्सियरकी अर्की घुसखोरी कर्मचारी हुन्, मीरा । १५ वर्षअघि संस्थासंग जोडिएकी उनी राजेन्द्रभक्तको आँखाको तारो हुन् । राजेन्द्रभक्तको नातेदार पर्ने मीरालाई सिन्सियरमा ल्याउनुको कारण विगतदेखि गर्दै आएको ठगीधन्दामाथि पर्दा हाल्नु हो । हिजो १० हजार मासिक तलबमा मेडिकलमा काम गर्ने मीराको त्यहाँ आएपछि भाग्य चम्किएको छ ।
त्यहाँ आएर अरुलाई उठीबास लगाउन सिकिन्, अरुको सम्पत्तिमा रजाइँ गर्न सिकिन्, योभन्दा अरु के नै चाहियो ? ढल्कु बस्ने मीराको आज १० करोड बढीको सम्पत्ति छ, कसरी ? एउटा कर्जा अधिकृतको मासिक तलब कति हुन्छ ? सिन्सियरका तीन नाइकेले अरुलाई रुवाएर, विस्थापना गरेर जोडेको सम्पत्ति अब अख्तियार र शुद्धिकरण विभागले छानबिन गर्ने छ । यता, सहकारी विभागमा समेत यिनीहरुविरुद्ध मुद्दा हाल्ने तयारी भएको बताइन्छ । यत्रो ठूलो दाग लागेका र घुसखोरी व्यक्तिहरुलाई सहकारी विभागले सिन्सियरको जिम्मेवारी पदबाट तुरुन्त हटाउनुपर्ने चर्चा चलेको छ । तीन हर्ताकर्तालाई त्यहाँबाट हटाउनुपर्छ भनेर सिन्सियरका सञ्चालक समिति, बचतकर्ता र सेयर होल्डरबीच बहस चलेको छ ।
सिन्सियरको कालो कर्तुतबारे त सबैलाई थाहा पाइसकेका छन् । ऋणीलाई सिन्सियरले कसरी च्याप्यो ? हजारौं ऋणीलाई कसरी बिल्लीबाठ बनायो ? यो बाहिर आइसकेको छ । अहिले आएर सिन्सियरविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार र शुद्धिकरणमा मुद्दा परेसंगै सिन्सियरमा तहल्का मच्चिएको छ । तीन हर्ताकर्तालाई आफूले गलत तरिकाले कमाएको सम्पत्ति कहाँ लगेर लुकाऊजस्तो भएको छ । यता, बचतकर्ताले बचत गर्न छोडिसकेका छन् । पैसा निकाल्नेका लाम लागेको छ । तीन हर्ताकर्तामाथिको विश्वास सेयर होल्डरले गुमाइसकेका छन् । सबैभन्दा ठूलो कुरा, न्यायको पर्खाइमा बसेका पीडितहरुको अनुहारमा खुसी देखिएको छ ।
उनीहरुमा अब त न्याय पाँउछौं भन्ने आशा जागेको छ । आफूसंग नेताको आड भएको र यो मुद्दाले केही हुँदैन् भन्ने दाबी गर्नेहरुको अब होश उड्नेछ । कानुनभन्दा माथि आफू होजस्तो गरेर यिनीहरुले पावर र पहुँचको दाबी गर्दै आएका छन् । राजनीतिक आड जित्दो रहेछ कि कानुन ? हेर्न बाँकी छ । आफू बच्नका लागि शक्ति केन्द्र धाउने क्रम शुरु भइसकेको छ । विगतदेखि राजनीति दल, प्रहरी प्रशासनको आडमा यिनीहरुले लुटको धन्दा मच्चाउँदै आए । नपढेका, हिसाबकिताब नजान्ने, कहीकतै पावर नभएकालाई त यिनीहरुले सोत्तर बनाएका छन् । सिन्सियरले शुरुका दिनदेखि ट्याक्सीमा लगानी गर्यो । किन कि ट्याक्सी व्यवसायीहरु धेरै पढेका हुँदैन् र उनीहरुको कतै पहुँच हुँदैन् ।
सिन्सियरबाट हजारौंं पीडित बनेका छन् । सरकार नै हामी हौं, हामीलाई कसैले केही गर्न सक्दैन् भन्दै मनलाग्दी गरेका सिन्सियरका तीन नाइकेको हंशले ठाँउ छोडेको छ । अरुको सम्पत्ति आरामसंग पचाउँछु भन्ने सोचेको उनीहरुको अहिले आएर होश उडेको छ । हिजो जसरी खाएका थिए, अब अख्तियार र शुद्धिकरणले त्यसरी नै निकाल्छ । भनिन्छ,‘उधो गएको खोलो १२ वर्षपछि पनि उभो फर्किन्छ ।’ अपराध गर्नेले त्यसको तिरो तिर्नैपर्छ । सिन्सियरका एकाध होइन्, हजारौं पीडित बनेका छन् । अर्काको चिल्लीबिल्ली बनाएर सम्पत्ति पचाउन खोज्दाको प्रतिफल अब यिनीहरुले भोग्नेछन् । पीडितलाई सिन्सियरले केसम्म गरेन् ? आफैंले सिद्धयाउने अनि आफैं धम्क्याउने ? यस्तो पनि हुन्छ ।
ऋणीलाई सखाप पारेपछि राजेशले भन्ने गर्थे,‘तिमीहरु जे सक्छौं त्यही गर । हामी यही पुतलीसडकमा छौं । तिमीहरुजस्ताले हाम्रो केही पनि हल्लाउन सक्दैनौं ।’ पीडितले हल्लाउनुपर्ने दिन गए, अब कानुनले सिन्सियरलाई हल्लाउँछ । सिन्सियरको योजना नै ऋणीको धितो जसरी भएनि पचाउने र ऋणीलाई सुकुम्बासी बनाउने हो । विगतदेखि वर्तमानसम्म सिन्सियर यही रणनीतिमा चलेको छ । सिन्सियरले पाता फर्काउने र भित्र लगेर कोच्ने डरधम्की देखाउने भएकाले पीडितहरु गुमसुम बसेका थिए । तर, अहिले परिस्थिति फेरिएको छ । सञ्चारमाध्यमहरुले सिन्सियरको कालोधन्दा बाहिर ल्याइदिएपछि पीडितहरु बोल्न थालेका छन् ।
सिन्सियरले पत्रकारलाई केसम्म गरेन् ? उसको सत्यतथ्य बाहिर ल्याउने पत्रकारलाई धम्क्याउने काम भयो । समाचार रोक्न मिडिया हाउसमै पुगे, राजेश खड्का । प्रहरी र प्रेस काउन्सिलमा उजुरीसमेत हाले । पत्रकारलाई कुटपिटसमेत गरियो । आफूहरु सहीसत्य भएको दाबी गर्दै प्रेस विज्ञप्तिसमेत निकाल्यो, सिन्सियरले । तर, त्यसले त पत्रकारको कलम रोकिएन् । अहिले पनि सञ्चारमाध्यमहरु सिन्सियर सत्यतथ्य र लुटको धन्दा बाहिर ल्याउन लागिपरेका छन् । सिन्सियरले बनाएका पीडितहरु एकजुट भइसकेका छन् । पीडितहरुले आफूलाई प्रहरीको जिम्मा लगाउने डरले थरथर बनेका तीन हर्ताकर्ताहरु न्यून मात्र कार्यालय आउँछन् ।
आएपनि क्षणिकका लागि आउँछन् र कुलेलम ठोकिहाल्छन् । अब सिन्सियरले पीडितलाई रोक्न सक्दैनन् । आज पनि पीडितहरुलाई सिन्सियरले दिएको पीडा झल्झली याद आउँछ । सिन्सियरको कारणले आफ्नो घरपरिवार नै तहसनहस बनेको घाउ उनीहरुलाई बल्झिएको छ । पीडितहरु सरकारसंग माग गर्छन्,‘सिन्सियरका तीन हर्ताकर्तालाई कानुनको दायरामा ल्याउनुपर्छ । पीडितहरुलाई न्याय दिनुपर्छ । सहकारी विभागले यसको दर्ता खारेज गरिदिनुपर्छ । गलत तरिकाले कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ ।’ यो सेवा दिने होइन्, सुकुम्बासी बनाउने संस्था हो । सरकार अझैपनि चुप लागेर बस्ने हो भने अरु पनि सुकुम्बासी बन्छन् ।
हजारौंले सिन्सियर ठग भनिरहँदा दुई जना सिन्सियरको गुनगान गाउँदै हिडिँरहेका छन् । कल्याण अधिकारी र देवदास श्रेष्ठलाई सिन्सियरले आफ्नो पक्षमा भक्तिगान गाउँन खटाएको छ । २० वर्ष कटेका ट्याक्सी धितो राखेर यिनीहरुले सिन्सियरबाट करोडौं ऋण लिएका छन् । सिन्सियरका तीन हर्ताकर्ताको ठग्ने आइडिया सिकेर यी दुईले पनि अंकुत सम्पत्ति कमाएका छन् । यी दुईको सम्पत्ति पनि सरकारले छानबिन गर्नुपर्छ । ट्याक्सी चालकलाई ठगेर कमाएका यिनीहरुको विरोधमा पनि मुद्दा पर्न बेर छैन् । राज्यलाई राजस्व छल्ने र सीधासाधी लुट्नेहरुलाई कानुनले छोड्नुहुँदैन् ।