काठमाडौँ ५ चैत
आइतबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबारको तुलनामा आइतबार सुनको भाउ एकै पटक प्रतितोला २ हजार ९ सय रुपैयाँले बढ्दा मूल्यमा नयाँ रेकर्ड कायम भएको हो । महासङ्घले आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको जनाएको छ ।
महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा सुनको माग अत्याधिक बढेको कारण मूल्यवृद्धि उच्च भएको हो । अर्थ डबलीसँगको कुराकानीमा उनले विश्व बजारमा सुनको मूल्य प्रतितोला दुई हजार डलर नाघ्ने प्रक्षेपण गरिएको जानकारी दिए । यसअघि गत माघ १९ गते सुनको उच्च मूल्य तोलामा १ लाख ७ हजार ५०० रुपैयाँ पुगेर नयाँ कीर्तिमान कायम गरेकोमा उक्त कीर्तिमानी आज ब्रेक भएको हो ।
विश्व अर्थतन्त्रमा मन्दी देखिएको कारण पछिल्लो समय विश्वका चर्चित बैङ्कहरूमा सङ्कट देखिएको छ । अमेरिकाको तीन ओटा बैङ्कहरू सिलिकन भ्याली बैङ्क, सिग्नेचर बैङ्क र सिल्भरगेट बैङ्क बन्द भएका छन् भने स्वीजरल्याण्डको स्वीस बैङ्कमा पनि सङ्कट देखिन थालेको समाचारहरू आइरहेका छन् ।
यस्तोमा सबैभन्दा बढी लगानी सुरक्षित हुने क्षेत्रको रूपमा सुनलाई लिइएको कारण सुनको माग अत्याधिक हुँदा अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको पूर्व अध्यक्ष शाक्यले बताए । आज विश्व बजारमा सुनको मूल्य १९९० डलर पुगेको छ भने यो मूल्य २००० डलर नाघ्न सक्ने बताइएको छ । भविष्यमा मूल्य घट्न सक्ने भए पनि यसको असर भने नेपाली बजारमा पर्ने उनी बताउँछन् । बैशाखसम्ममा पनि सुनको मूल्य नघटे व्यवसायी र उपभोक्ताहरू यसको प्रत्यक्ष मारमा पर्ने उनको भनाइ छ ।
आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम भएको छ । यसअघि चाँदीको मूल्य तोलामा १३ सय १० रुपैयाँ कायम थियो ।