काठमाडौं, चैत ४
राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले बचतकर्ता र ऋणीलाई सडकछाप नै बनायो । ऋणीलाई चुस्नुसम्म चुसेर त्यहाँका सञ्चालकहरुले तिनलाई ‘घर न घाट’ को बनाएको छ । सिन्सियरका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मीरा कर्माचार्यले घुस खाएर, मँहगो ब्याज र चर्को सेवाशुल्क लिएर अंकुत सम्पत्ति जोडे । आफू कमाउनका लागि यी तीन हर्ताकर्ताले ऋणीलाई कहीकतैको छोडेनन् ।
ऋणीलाई सोत्तर बनाएको सिन्सियरले अब बचतकर्तालाई पनि डुबाउने भएको छ । केही समययता सिन्सियरमा चर्कै भीड लागेको छ । सिन्सियरको कर्जा लगानी र कालो कर्तुत बाहिर छरपष्ट भएपछि बचतकर्ताहरु आफ्नो बचत निकाल्न तम्सिएका छन् । जानाजान बेतिथिले भरिपूर्ण संस्थामा आफ्नो पैसा कसले राख्छ र ? यता, सिन्सियरले बचत फिर्ता गर्न सकिरहेको छैन् । आफूलाई कुट्ने हो कि भन्ने डरले सिन्सियरका तीन हर्ताकर्ता कार्यालय आउनै छाडिसकेका छन् ।
सिन्सियरका बचतकर्ता र पीडितहरु सहकारी विभाग जान तयार भइसकेका छन् । सहकारी विभागमा उजुरी हाल्ने तयारी भइरहँदा यी तीन हर्ताकर्ता भाग्न सक्ने आकंलन लगाइएको छ । सरकारले सिन्सियरमाथि निगरानी राख्न जरुरी भइसकेको छ । व्यापारीहरुले सिन्सियरमा बचत गर्न छोडिसकेका छन् । बजारबाट पैसा नउठिरहेको बेलामा सिन्सियरमा पैसा निकाल्नेको भने भीड लागेको छ । सिन्सियरले थोत्रा ट्याक्सीमा करोडौं कर्जा लगानी गरेको छ ।
थोत्रा ट्याक्सी धितो राखेर सिन्सियरले दशौं करोड रुपैयाँ कर्जा लगानी गरेको छ । कल्याण अधिकारी, देवदास श्रेष्ठलगायतका व्यक्तिहरुलाई सिन्सियरले पाँच करोडदेखि १५ करोड रुपैयाँसम्म कर्जा दिएको छ । २० वर्ष पुगेका ट्याक्सी कबाडीमा बेच्दाखेरि १५ देखि २० हजार रुपैयाँ आउँछ । तर, ती ट्याक्सीबाट सिन्सियरले १० देखि १७ लाख रुपैयाँसम्म उठाउनुपर्ने छ । सिन्सियरले थोत्रा ट्याक्सी मात्रै धितो राखेर यत्रो कर्जा लगानी गरेको छ । न घरजग्गा धितो राखेको छ न अन्य कुनै जायजेथो ।
एउटा ट्याक्सीबाट २५ हजार रुपैयाँ घुस खाने, २० हजार सेवाशुल्क । ब्याज पनि १८ देखि २० प्रतिशत । यति भएपछि सिन्सियरलाई के चाहियो ? घुसमा लुप्त सिन्सियरले विगतदेखि नै यसरी नै कर्जा लगानी गर्दै आएको छ ।
आफ्नो कालो कर्तुत बाहिर आएपछि सिन्सियरले मिडिया हाउसमै आफ्ना चेलाहरु पठाउन थालेको छ । पत्रकारलाई धम्काउने अनि परेको खण्डमा पातासमेत फर्काउने सिन्सियरको भनाइ छ । पहिले सिन्सियरका कार्यकारी सञ्चालक खड्का आफैं मिडिया हाउस पुग्थें ।
अहिले आफ्ना चेलाहरुलाई पनि त्यही काममा खटाउन थालेका छन् । कल्याण र देवदास ट्याक्सी व्यवसायी हुन् । यिनीहरुको काम सीधासाधी चालकलाई लुट्नु हो । १० लाख पर्ने ट्याक्सी १५ लाखमा चालकलाई दिने । २० लाख पर्ने ट्याक्सी २५ लाखमा दिने । ट्याक्सीको बिलबुकमा माथि सिन्सियरको नाम हुने, ऋणीचाँहि उनीहरु हुने । त्यही गाडी सीधासाधी चालकलाई शुरुमा तीनदेखि पाँच लाख लिएर दिने । तीन किस्ता नतिर्नेबित्तिकै गाडी त तानिहाल्छन् ।
शुरुमा चालकले दिएको पैसा पनि झ्वाम्म बनाइदिने । यिनीहरुले ब्याज २० देखि २४ प्रतिशत लिँदै आएका छन् । सिन्सियरले ट्याक्सी दलाल गर्ने व्यापारीहरुलाई भर्याङ बनाएर ठगीधन्दा चलाउँदै आएको छ । तीन हर्ताकर्ताले पर्दाभित्र बसेर ट्याक्सी दलालीहरुमाथि कर्जा लगानी गर्ने गरेको त खुलस्त भइसकेको छ । सिन्सियरले सयौं ट्याक्सी दलाली पालेको छ । सिन्सियरले घुस खाएर ट्याक्सी दलालीलाई कर्जा दिने, ती दलालीले चालकलाई लुट्ने ।
सिन्सियर अझैसम्म राम्रो छ भनेर यिनीहरु बजारमा अफवाह फैलाउँदै हिँडेका छन् । सिन्सियर कस्तो संस्था हो ? यो खोज्न धेरै टाढा जानुपर्दैन् । सिन्सियरका तीन हर्ताकर्ताले कसरी कमाए ? यो त सबैलाई थाहा नै छ । सिन्सियरबाट पीडित बनेको पाइलैपिच्छे भेटिन्छन् । अनि अझै पनि हामी ऐनकानुनमा चलेको छौं ? भन्न लाज लाग्दैन् । एकाध दलेलाई आफ्नो पक्षमा बोल्न लगाएर सत्य फेरिन्छ ? सिन्सियरले कतिसम्म चालबाजी गर्ने ? कहिलेसम्म बचतकर्ता र ऋणीलाई चुसिरहने ?
गठ्ठाघरमा बस्दै आएका विकास कुँवर सिन्सियर पीडित हुन् । ट्याक्सी धितो राखेर सिन्सियरबाट कर्जा लिएका उनले समयमै किस्ता हाल्ने गरेका थिए । तर, सिन्सियरले आफ्नो हिसाब हिनामिना गरिदिएको उनको भनाइ छ । एक वर्षसम्म किस्ता हाल्दा पनि ऋण नघटेपछि उनी आश्चर्यचकित बनेका थिए । अर्कोतिर सिन्सियरले उनलाई झण्डै एक दशक अघिदेखि सेयरको रकम पनि फिर्ता दिएको थिएन् । अर्का पीडित हुन् दोलखाका सोमहरि काफ्ले ।
सिन्सियरको तनाव सहन नसकेर उनी मानसिक रोगी बने । अहिले उनी मानसिक रोगको औषधी खाएर बाँचिरहेका छन् । पीडा सहन नसकेपछि काफ्ले मिडिया गुहार्न पुगेका थिए । मिडियामार्फत आफ्नो पीडा बाहिर ल्याएपछि सिन्सियरका कार्यकारी सञ्चालक खड्काले आफूलाई धम्काएको उनी बताउँछन् । यी त केही उदाहरण मात्रै हुन् । सिन्सियरले कतिलाई बाँच्न दिएन् । कोही ज्युँदो लाश बनेका छन् । कतिपय भूमिगत भए, कतिपय मानसिक रोगको औषधी खाइरहेका छन् ।
हिजो करोडपतिमा गनिनेहरु आज सडकपति बनेका छन् । अनि आफ्नो पीडा पोख्यो भने पीडितलाई थर्काउने, तर्साउने । मिडिया हाउसमा आफ्नो चेला पठाउने । राज्यको चौंथो अंगलाई त सिन्सियरले धम्काउँछ भने ऋणीको अवस्था के भयो होला ? पीडितले आफ्नो पीडा पोख्न नपाउने ? आफूसंग राजनीतिक दल, प्रहरी र गुण्डाको आड छ भन्दैमा अर्कालाई लुट्न पाइन्छ ? राजनीतिक दल जनताका लागि हुन कि यस्ता ठगहरुका लागि ? प्रहरी प्रशासन जनताको सुरक्षाका लागि राखिएका हुन् ।
आफूमाथि भएको अन्यायको विरोधमा बोल्ने पाउने हक सबैलाई छ । नेपालको संविधानले हरेक नागरिकको बोल्न पाउने हक सुनिश्चितत गरेको छ । अनि मिडियामा बोल्यो भन्दैमा पीडितलाई थर्काउने अधिकार सिन्सियरका राजेश खड्कालाई कसले दियो ? संविधानभन्दा माथि राजेश खड्का हो ? सिन्सियरका तीन हर्ताकर्ता अहिले करोडौंमा गनिन्छन् । छोटो समयमा एउटा सहकारीका सञ्चालक कसरी धनी बने ? आज यिनीहरुलाई देख्नेजति आश्चर्यचकित बन्छन् ।
यिनकै सिको कल्याण र देवदासले गरेका हुन् । तनहुँका कल्याणका १७ वर्षको बीचमा कसरी त्यहाँ पुगे ? हिजो ट्याक्सी दलाल गरेर पाँच हजार कमिशन खाने उनको कंलकीमा तीन करोड बराबर पर्ने घर छ । उनको थुप्रै ठाँउमा जग्गा छ । ट्याक्सी पास नगर्ने अनि चालकको जग्गाचाँहि आफ्नो नाममा राख्ने । तीन किस्ता नतिर्नेबित्तिकै ट्याक्सी त ताने, जग्गा पनि आफ्नो स्वामित्वमा लगिहाल्ने । नपढेका चालकहरुलाई उनले तहसनहस बनाइदिए ।
उनको पचासौं वटा ट्याक्सी छ भने ५० करोड पर्ने कारमा यात्रा गर्छन् । कोठा भाडा तिर्न नसक्ने कल्याण रातारात धनी बन्नु पछाडि दुईटा कारण छ । एकातिर सीधासाधी चालक लुटे अर्कोतिर राजस्व छले । न ट्याक्सीमा गरेको लगानीको कर तिर्छन् न आम्दानीको । दोलखाका देवदास आजभन्दा १९ वर्षअगाडि रातिको समयमा बा.१.ज.७१७३ नम्बरको साहुको ट्याक्सी चलाउथें । देवदासको अहिले लोकन्थलीमा घर छ । जग्गा पनि धेरै ठाँउमा छ । उनको दुई सय वटा ट्याक्सी छन् ।
उनले पनि चालक लुटेर नै कमाएका हुन् । यिनीहरु बाहिर बस्ने ठग्ने, भित्र बसेर सिन्सियरका तीन हर्ताकर्ता लुट्न सिकाउने । सिन्सियरका तीन हर्ताकर्तासहित यस्ता दलालहरुको सम्पत्ति छानबिन गर्नुपर्छ । अरुलाई डुबाएर जोडेको सम्पत्तिमा यिनीहरुले मोजमस्ती गरिरहेका छन् । सिन्सियरका कारण धेरैको बिचल्ली भएको छ । सिन्सियरले गर्दा अधिकांश परिवार विस्थापित भए । सरकारले सिन्सियर पीडितलाई न्याय दिनुपर्छ, गलत गर्नेले सजाय पाउनुपर्छ ।
सहकारी विभाग अझैपनि टुलुटुलु हेरेर बस्ने हो भने अर्को हजारौं यहाँ पीडित बन्छन् । सरकारले ढिलाइ गर्यो भने बचतकर्ता पनि डुब्छन् । सरकार एक्सनमा जान अबेला भइसकेको छ । बचतकर्ताले पनि जतिसक्दो छिटो आफ्नो बचत निकाल्नुपर्छ ।