काठमाडौं, फागुन २१
काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा भोलि र तराईमा पर्सि होली मनाइँदैछ । होलीलाई रंगको पर्व पनि भन्ने गरिन्छ । होली नेपालीहरुको एक महत्वपूर्ण चाड हो । तर, केही वर्षयता होली खेल्ने नाममा अनेकौं बेतिथि भित्रिएका छन् ।
होली खेल्ने क्रममा सावधानी नअप्नाउँदा कतिपयको ज्यानसमेत गएको छ । छतमा बसेर होली खेल्दा धेरै जोखिम निम्तिएको छ । होलीको नाममा जे मनलाग्यो त्यही गर्न थालिएको छ । कसैको इच्छाविपरीत लोला हान्न पाँइदैन् । जबरजस्ती रंग लगाएमा कानुनबमोजिम कारबाही हुन्छ । होली खेल्न मन छैन् भन्दाभन्दै जबरजस्ती लोला हानेमा वा रंग लगाएमा जरिवाना वा कैद सजाय भोग्नुपर्ने हुन्छ । इच्छाविपरीत आफ्नै परिवारका सदस्य र आफन्तलाई समेत भिजाउन र रंग लगाउन पाँइदैन् । सरकारले बनाएको कानुन कतिपयलाई थाहा छैन् । थाहा भएकाले पनि बुझ पचाइरहेका छन् ।
होली खेल्ने भन्दै जबरजस्ती मादक पदार्थ सेवन गराउने । अवाञ्छित क्रियाकलापहरु गर्ने । भीडभाड भएको फाइदा उठाएर महिलाहरुको संवेदनशील अंगमा हात लैजाने । चोरी र लुटपाटका घटनाहरु पनि होलीमा यत्तिकै घट्छ । एकअर्कामाथि भएको रिस फेर्ने राम्रो माध्यम होली बनेको छ । होली खेल्ने भन्दै रंगमा मोबिल, खुर्सानी, केमिकललगायत हानिकारक चीज मिसाउने अनि छ्यापिदिने । यसले कतिपयको आँखामा खराबी हुन्छ, कतिपयको छाला बिग्रिन्छ ।