ललितपुर,फागुन १७
ललितपुर महानगरपालिकाले कोरोनाबाट प्रभावित ९ सय ४३ जनालाई राहतस्वरुप आर्थिक सहयोग प्रदान गरेको छ । आर्थिक सहयोगका लागि एक हजार २३ निवेदन दर्ता भएका थिए । आवश्यक कागजपत्र नपुगेका कारण ८० जनाले सहयोग पाएका छैनन् ।
कोरोना उपचार तथा राहतअन्तर्गत आर्थिक सहयोग वापत ६ करोड ७१ लाख १० हजार प्रदान गरिएको कोरोना उपचार तथा राहत सहयोगसम्बन्धी प्रतिवेदनमा उल्लेख छ । महानगरले स्थायी बसोबास गर्नेलाई राहतस्वरुप आर्थिक सहयोग दिएको थियो । महानगरीय विपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकमा मेयर चिरिबाबु महर्जनले कागजात नपुगेकालाई कागजात पुर्याएर आउन १५ दिनको समय दिइने बताए ।
कोरोनाबाट मृत्यु भएका ३ सय ९२ लाई प्रतिमृतक एक लाख २० हजार दिइएको छ । आईसीयू र सीसीयूमा बसेर उपचार गरी फर्केकालाई जनही ६० हजार रुपैयाँ प्रदान गरिएको छ । कोरोनाका कारण बिरामी भई उपचारका लागि अस्पताल गएकालाई ३० हजार वा त्यसो भन्दा कम (बिलको आधारमा) दिइएको प्रतिवेदनमा उल्लेख छ ।