काठमाडौं २९ कात्तिक
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ निर्माण गर्नको लागि खुलामञ्चमा सफा गरेको छ । झाडी र फोहोरले अस्तव्यस्त बनेको खुलामञ्च सम्याएर महानगरले अहिले सफा गरेपछि बेसमेन्ट निर्माण गरेर पार्किङ गराउने तयारी थालेको महानगरका मेयर बालेन्द्र साहका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले जनाएका छन् ।
उनका अनुसार अहिले फोहोर र झाडीको कारण अस्तव्यस्त देखिएकोले सम्याइएको मात्रै हो ।महानगरमा भइरहेको पार्किङ समस्या समाधान गर्न यसले भूमिका खेल्ने उनले वताए । बजेटमै उल्लेख भएको बुँदा अनुसार महानगरले खुलामञ्चमा तीन तल्लाको अन्डरग्राउन्ड पार्किङ गराउने गरी ‘सार्वजनिक–निजी–साझेदारी’अवधारणामा संरचना निर्माण हुने लम्सालले बताए । पीपीपी मोडलमा ठेक्का खोल्न महानगरले केही नीतिगत व्यवस्था समेत सच्याउने भएको उनले बताए ।
महानगरको बजेटको बुँदा नम्बर १११ मा बढ्दो सवारी चापलाई मध्यनजर गरी वडा नम्बर ११ मा रहेको खुलामञ्चसँगैको जग्गामा ‘रिभर्स बोरिङ’ सहितको भूमिगत पार्किङका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने उल्लेख छ । ‘हामीले ५ हजार सवारी साधन अट्ने गरी बेसमेन्ट पार्किङको लागि अध्ययन गरिरहेका छौं । बजेटमै आइसकेकोले महानगरले आन्तरिक तयारी गरिरहेको छ । खुलामञ्चमा १५ वैशाख २०७८ देखि सवारी प्रवेशमा रोक लगाइएको थियो ।