neapl investment mega bank
  • गृहपृष्ठ
  • राजनीतिक दलहरूले जलवायु परिवर्तनलाई आत्मसात नगरेको गुनासो

राजनीतिक दलहरूले जलवायु परिवर्तनलाई आत्मसात नगरेको गुनासो

Nov 1st, 2022

काठमाडौँ १५ कार्तिक

जलवायु परिवर्तनलाई बहुसरोकारको विषय बनाई अघि बढ्न सरकारलाई विज्ञहरूले सुझाव दिएका छन् । जलवायु परिवर्तन अहिलेको वैश्विकरूपमै पेचिलो विषय भएकाले बहुक्षेत्रगत तहमा समन्वय, सहकार्य र सहभागिताले मात्रै यसले निम्त्याउने समस्यासँग जुध्न सहयोग पुग्ने विज्ञको सुझाव छ ।
जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय महसन्धि (युएनएफसीसी) का पक्षराष्ट्रको सत्ताइसौँ सम्मेलन कोप–२७ यस पटक यही कात्तिक २० देखि मङ्सिर २ सम्म इजिप्टको सार्म एल् शेख शहरमा हुँदैछ । सोही अवसरमा ‘कोप–२७ मा मिडिया र नागरिक समाजको उत्प्रेरक सम्भाव्यता’ विषयक कार्यक्रममा बोल्दै विज्ञहरूले नेपालमा जलवायु परिवर्तनको विषय राजनीतिकरण नभएकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रम आयोजक संस्था नेपाल पानी संरक्षण प्रतिष्ठानका अध्यक्ष डा ङमिन्द्र दाहालले हामीले अहिलेसम्म जलवायु परिवर्तनसम्बन्धी के सिक्यौँ र कति गर्न सक्यौँ भन्ने कुराको सही समीक्षा हुनु जरुरी भएको बताए । “जलवायु परिवर्तन बहुपक्षीय विषय भएकाले वातावरण मन्त्रालयमात्र नभई अन्य मन्त्रालय र विभागको उत्तिकै सक्रियता आवश्यक छ”, डा दाहालले जोड दिए । उनका अनुसार पालिकास्तरमा यी विषय नपुग्नु, सही तथ्याङ्कको अभाव हुनु, हानि र क्षतिसम्बन्धी गहन अध्ययन नहुनु नेपालका लागि चुनौती हुन् ।

“जबसम्म विज्ञान, राजनीति र नीति निर्माण एकसाथ भएर काम गर्दैनन्, जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई गाह्रो पर्छ”, उनको जिकिर छ ।
त्यसैगरी, प्रकृति स्रोत केन्द्रका निर्देशक राजु पण्डित क्षेत्रीले यति लामो समय भइसक्दा पनि नेपालका राजनीतिक दलहरूले जलवायु परिवर्तनलाई आत्मसात नगरेको गुनासो गरे ।

बहुक्षेत्रीय प्रभाव पार्ने मुद्दा जलवायु परिवर्तनप्रति कसैले पनि बेवास्ता गर्न नमिल्ने भन्दै क्षेत्रीले नागरिक समाजले विकसित राष्ट्रले अल्पविकसित राष्ट्रलाई दिने भनेको सहयोग कार्यान्वयनका लागि उनीहरूलाई दबाव सिर्जना गर्नु आवश्यक रहेको जनाए । उनका अनुसार कोप–२७ पनि यसका लागि उचित मञ्च हो ।

“जलवायु परिवर्तन एक्लो समस्या नभई आर्थिक, सामाजिक र राजनीतिक समस्याको मिश्रण हो । त्यसैले यो बहुसरोकारको विषय हो”, उनले भने । क्षेत्रीका अनुसार अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनसम्बन्धी नागरिक समाज र नेपाल सरकारको भनाइ एकै भए पनि देशभित्र भने नागरिक समाजले सरकारका गतिविधिलाई सूक्ष्मरूपमा नियाल्नु पर्दछ । जलवायु वित्तको सही प्रयोग हुन्छ हुँदैन भन्नेमा मिडिया र नागरिक समाजले विशेष ख्याल गर्नुपर्नेमा उनको जोड छ ।

जलवायु अभियानकर्मी लालमणि वाग्लेका अनुसार प्रलयकारी जलवायुजन्य घटना, युक्रेन युद्ध र जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घको पछिल्लो प्रतिवेदनको पृष्ठभूमिमा हुन लागेकाले पनि कोप–२७ को विशेष महत्व छ । उनले नागरिक समाजले नेपाल सरकारलाई जलवायु परिवर्तनका विषयमा ज्ञान र सीप विकासमा सहयोग गर्नुका साथै सरकारका गतिविधि पनि अनुगमन गरिरहेको बताए । जलवायु अनुकूलन र हानि र क्षति नेपालले विशेषरूपमा उठाउनुपर्ने उनको सल्लाह छ ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महशाखाका उपसचिव नरेश शर्माले कोप–२७ का लागि नेपालले प्रस्तुत गर्ने पोजिसन पेपरको तयारी अन्तिम चरणमा पुगेको बताए । अल्पविकसित राष्ट्रमार्फत् हामीले राख्नु पर्ने विषय त्यो पोजिसन पेपरमा समावेश भएका छन् भन्दै उनले वातावरण मन्त्रालय जलवायु परिवर्तनका मुद्दामा फोकल मन्त्रालय भए पनि अन्य मन्त्रालय तथा विभागसँग समन्वय र छलफल गरिरहेको जानकारी दिए ।