काठमाडौं १५ कार्तिक
नेकपा (एमाले)ले ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिदै चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाईभ डिबेट’ पनि यहीँबाट सुरु हुने एमालेले जनाएको छ ।
डिजिटल रूपमा सार्वजनिक गरेको घोषणापत्रमा २० हजार शब्द रहेका छन् । जसमा अध्यक्ष ओलीले ६ वटा प्रश्न सर्वसाधारणलाई सोधेका छन् भने पार्टीको चुनाव चिन्हमा किन भोट हाल्ने, अरुलाई किन नहाल्ने भन्ने प्रस्ट्याउन खोजिएको छ ।
घोषणापत्रमा सुशासन, विकास, समृद्धि र स्वाधीनता चार संकल्प व्यक्त गरिएको छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाललगायत उपस्थित छन् । सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा )एकीकृत समाजवादी)ले संविधानको रक्षालाई मूल नारा बनाएर यस अघिनै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन ।