ललितपुर , १४ कार्तिक
ललितपुर जिल्ला क्षेत्र नम्बर–३ प्रतिनिधि सभा सदस्यका उम्मेद्धवार पम्फा भुसालविरुद्ध ललितपुरमा ‘नो नट अगेन’ अभियान चलेको छ । माओवादी केन्द्रकी उपमहासचिव समेत रहेकी भुसाललाई यस पटकको निर्वाचनबाट स–सम्मान बिदा गरौँ भन्दै ललितपुर भर सो अभियान चलेको हो ।
ह्यासट्याग ‘नो नट अगेन’ अभियान चलाउँदै ललितपुरबासीले सामाजिक सञ्जालमा यो अभियान तीब्र पारेका छन् । भुसालले पटक पटक सांसद, मन्त्री पद पाए पनि आफ्नो निजी बृति विकास बाहेक निर्वाचन क्षेत्रमा देखिने कुनै किसिमको प्रतिफल दिन नसकेको ललितपुर बासीले उक्त अभियानमा आक्रोश पोखेका छन् ।
भुसाल निर्वाचित भएपश्चात वा मन्त्री बनेपनि निर्वाचन क्षेत्रलाई वेवास्ता गरेको, समसामायिक समस्या, विकास निर्माणमा समेत कुनै सकृयता नदेखाएको उनीहरुको आरोप छ । उक्त अभियानमा एक प्रयोगकर्ताले ‘नो नट अगेन भन्न पाईदैन, लेख्न पाईदैन, चुनावमा देखाईदिने हो’, उल्लेख गर्दै भुसाललाई बहिस्कार गर्नु पर्ने धारणा राखेका छन् ।
त्यस्तै अर्का प्रयोगकर्ताले उम्मेदवार भुसाललाई मेनसन गर्दै ‘१० वर्ष देशलाई युद्धमा पु¥याउने, युवालाई विदेशमा श्रमिक बनाई देशलाई चुस्नेलाई ललितपुर क्षेत्र नम्बर ३ बाट फेरी फेरी, भयो अब त पुग्यो’ भन्दै भुसाललाई बहिस्कार गर्नु पर्नेमा जोड दिएका छन् ।
सांसद बनाएर पठाए पनि नीति निर्माण तथा संसदमा निर्वाचन क्षेत्रको विषयमा एक शब्द पनि उच्चारण नगरेको भन्दै यस पटक उनलाई भोट नदिने भन्दै ललितपुरबासीले उनी विरुद्ध ‘नो नट अगेन’ अभियानलाई तीब्रता दिएको छ । यसअघि कलाकार दीपकराज गिरीले ६० वर्ष नाघेकालाई भोट नदिन अपिल गरेका थिए । उनले फेसबुक स्टाटसमा लेखेका छन–‘सबै फुल गुलाब हुदैनन ,सबै स्वतन्त्र वालेन हुदैनन । आफ्नो भोट खेर फाल्दिन ६० कटेकालाई हाल्दै हाल्दिन’ ।