काठमाडौँ ,१२ कार्तिक
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७९ को लागि ललितपुर क्षेत्र नं ३(१) मा नेकपा एमालेबाट रघुनाथ महर्जन बागमती प्रदेश सभाका उम्मेदवार छन्। ललितपुरका सफल पुस्तक व्यवसायी समेत रहेका महर्जनले यसपटक विगतको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका हालका गठबन्धनका उम्मेदवार राजकाजी महर्जनसंग प्रतिष्पर्धा गर्दैछन।
ललितपुर महानगरपालिका २७ सुनाकोठीका राजकाजी माओवादी केन्द्रका केन्द्रिय सदस्य हुन् भने गोदावरी नगरपालिका १२ ठेचोका रघुनाथ एमाले बागमती प्रदेश कमिटि सदस्य हुन्। ललितपुर क्षेत्र नं १ को १ तर्फ गोदावरी नगरपालिकाका वडा नं १२ र १४ तथा ललितपुर महानगरपालिकाको ५, १३, १४, १५,२३, २४, २६, २७, २८, २९ गरी १२ वटा वडाहरु पर्दछन। जसमध्ये स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरका ५, १५, २३, २४ र २९ गरी ५ वडामा एमालेको जीत भएको छ भने गोदावरीका २ वडा सहित महानगरका १४,२८ वडा कांग्रेस, २६ र २७ माओवादी केन्द्रले जितेको छ। उक्त क्षेत्रमा कुल ४९ हजार मतदाता छन्।
एमालेबाट उम्मेदवार रहेका रघुनाथ महर्जन यसपटक जनताले नयाँ अनुहार खोजेको र यसका लागि आफू उपयुक्त उम्मेदवार रहेकाले आफ्नो जीत पक्का भएको दावी गर्छन। विगतमा निर्वाचित सांसदले ५ वर्षभित्र विकास निर्माण तथा अन्य जनताका सवालमा देखिने गरी केही काम गर्न नसकेको उनको आरोप छ। यसपटक उक्त क्षेत्रको लागि विकास निर्माणको साथै शिक्षा,स्वास्थ्य, खेलकुद,संस्कृति संरक्षण, पर्यटनको क्षेत्रमा धेरै काम गर्ने योजना रहेको महर्जन बताउछन। १२ वटा वडाभित्र पुरातात्विक धरोहरको रुपमा ६५ वटा ढुंगेधारा रहेको जसमध्ये १र२ ओटा धारमा मात्र मुस्किलले पानी आउने भएकाले ती सबै धारमा पानी झार्नको लागि स्रोतको पहिचान गर्दै पानी ल्याउन आफ्नो प्राथमिकता हुने महर्जनले बताए। ‘ विगतमा जित्नेले ढुंगेधारा संरक्षण जस्ता महत्त्वपूर्ण सवालमा ध्यान नै दिएनन। तर यस्ता कुराले हाम्रो क्षेत्रलाई विश्वयापी पहिचान दिने माध्यम हुन सक्छ। ‘ उनले भने।
यसैगरी आफ्नो क्षेत्रभित्र रहेका विभिन्न समस्याको समाधानका लागि त्यहाँका राजनीतिक दल, बुद्धिजीवी तथा अन्य सरोकारवाला संग समन्वय र छलफल गरी पूर्णता दिने महर्जनको भनाई छ। यस्तै कला संस्कृति तर्फ ललितकलाको अध्ययन गर्ने एक क्षेत्रको रुपमा आफ्नो क्षेत्रलाई विकास गर्ने आफ्नो योजना रहेको महर्जनले सुनाए। कृषि क्षेत्रको समेत सम्भावना रहेको क्षेत्रमा सिचाइको लागि पुरातात्विक राजकुलोहरु संरक्षण गरी त्यसलाई व्यवस्थित गर्ने, शिक्षा सेवातर्फ सामुदायिक विद्यालयको सबलीकरण तथा नीजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र अभिभावकलाई आकर्षण गर्ने कार्यक्रम लगायत महर्जनका योजना रहेका छन्।