महेन्द्रनगर २७ असोज
२०७४ को निर्वाचनमा कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने र पराजित भएका सबै दलका उम्मेदवारले विकासका नारा लिएर मतदाताको घरदैलोसम्म पुगेपनि दलीय आश्वासन अनुसारको विकास भने भएन् ।
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर रहेको यहाँको निर्वाचन क्षेत्र नं ३ मा प्रमुख राजनीतिक दलहरुले महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल, मझगाउँ विमानस्थल सञ्चालनदेखि उज्यालो भीमदत्तसम्मको नारा घोषणा पत्रमा समावेश गरेपनि ती घोषणापत्र मै सीमित रहे । सुदूरपश्चिम प्रदेश सरकारले अस्पताललाई प्रादेशिकस्तरमा स्तरोन्नति गरेपनि शिक्षक अस्पतालको विषयले भने यहाँ बितेको पाँच वर्षमा महत्व नै पाएन् ।
त्यसैगरी मत माग्दा यहाँ बन्द अवस्थामा रहेको मझगाउँ विमानस्थल सञ्चालन गरिने चुनावी नाराले मत पाए पनि विमानस्थल अझै सुचारु हुने स्थितिमा छैन् । सङ्घ र स्थानीय सरकारले विमानस्थल पुनःनिर्माणको काम अघि बढाए पनि जग्गा प्राप्तिको विषयले अलमलमा छ ।
त्यसैगरी नेपाली कांग्रेस, नेकपा एमालेलगायत यहाँ गत निर्वाचनमा होमिएको राजनीतिक दलले दोधारा चादँनीमा सुख्खा बन्दरगाह निर्माण र महाकालीसन्धि अनुसार शारदा नहरबाट पाउनुपर्ने तीन सय ५० क्युसेक पानी उपलब्ध गराउन पहल गर्ने विषय पनि चुनावी एजेण्डा बनेका थिए ।
सुख्खा बन्दरगाह अहिलेको सरकारले रु एक अर्ब विनियोजन गरेर प्रक्रिया अघि बढाउन थाले पनि यो बिचमा सुख्खा बन्दरगाह नयाँ स्थानमा प्रस्ताव मात्रै भयो ।
त्यसैगरी भारतबाट शारदा नहरबाट लिनुपर्ने सिँचाइका लागि पानी ल्याउने विषयले कुनै कति पाएन् । नेपालतर्फ दोधारा चादँनी क्षेत्रमा महाकाली सिँचाइ आयोजनाले मूल नहर निर्माणका लागि भने पछिल्लो समय पहल गरेको छ । त्यसका साथै शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका विषय दलहरुका चुनावी ‘एजेण्डा’ मात्रै बन्ने गरेको महेन्द्रनगरका समाजसेवी मदन चन्दको भनाइ छ ।
“बजारमा बनिरहेको अहिले एडिबीको कार्यक्रम हो ।” उनले भने,“महाकाली नदीमा चार लेनको पुल बाहेक देखिने गरी अरु काम भएको देखिएन् ।”उनले सरकारले नियमित गर्ने विकासका कामलाई राजनीतिक रुपमा हेर्न नहुने बताए ।बजारमा बिजुली बत्ती र सरसफाइको काममा कहिँबाट पहल नभएको उनको भनाइ छ ।”सरसफाइका लागि नरपालिकासित सयौँं कर्मचारी भए पनि बजारको अवस्था झन् बिग्रदो अवस्थामा छ ।”
उनले भने,“विकासका आश्वासन दिने भन्दा पनि विकास गरिरहेकालाई चिनेर मत दिन्छौँं ।”उता कैलालीको मालाखेती र कञ्चनपुरको त्रिभुवनबस्ती इलाकासम्म सिँचाइ सुविधा पु¥याउने लक्ष्यसहित अघि बढेको राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजना तेस्रो चरणको काम सन्तोषजनक छैन् । बितेको पाँच वर्षको बिचमा उक्त आयोजना राष्ट्रिय गौरवको आयोजनाको स्तरोन्नति भने भयो ।
–शेरबहादुर सिंह