काठमाडौं २६ असोज
नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यको लागि उमेदवारी दिएका लक्ष्मण थारु र रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय काटिरहेका रेशम चौधरी र फरार रहेका लक्ष्मण थारुको उम्मेदवारी खारेज भएको हो ।
चौधरीले बर्दिया–२ मा र थारुले कैलाली–५ मा उम्मेदवारी दिएका थिए । २०७२ ७ भदौमा सुरक्षाकर्मीसहित ९ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा हिंसात्मक झडप भएको थियो । यो घटनामा संलग्नताको अभियोग लागेका चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैद र थारुलाई ३ वर्ष कैदको सजाय सुनाएको थियो । तर उच्च अदालत डोटीले चौधरी र थारु दुबैलाई जन्मकैदको सजाय सुनाएको थियो ।
फौजदारी मुद्दामा दोषी ठहर भएको व्यक्ति उम्मेदवार भएको भन्दै परेको उजुरीमाथि सुनुवाइ गर्दै निर्वाचन अधिकृतको कार्यालयले दुबैको उम्मेदवारी खारेज गरेको हो ।
रेशम यसअघि २०७४ सालमा कैलाली–१ मा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए । टीकापुर घटनामा संलग्नताको आरोपमा मुद्दा खेपिरहेका उनले फरार रहेकै अवस्थामा उम्मेदवारी दर्ता गराएका थिए । यता चौधरीले थुनामै रहेको अवस्थामा श्रीमती रञ्जिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी गठन गराएका थिए ।