neapl investment mega bank
  • गृहपृष्ठ
  • चर्चित महिला नेतृ को कहाँबाट भिड्दैछन् ?

चर्चित महिला नेतृ को कहाँबाट भिड्दैछन् ?

Oct 11th, 2022

काठमाडौ २५ असोज

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा महिलाको उमेदवारी उत्साहजनक रुपले बढेको छ । प्रमुख दलका र चर्चित नेतृहरुमध्ये महिलाको धेरै उमेदवारी नेकपा एमालेबाट परेको छ । नेकपा (एमाले)का सात जना महिलाले मनोनयनपत्र दर्ता गरेका छन् । जसमध्ये स्याङ्जा–१ बाट पद्मा अर्याल, कञ्चनपुर–३ बाट निरूदेवी पाल, दाङ–१ बाट शान्ता चौधरी, दाङ–३ बाट कोमल वली, सुनसरी–३ बाट भगवती न्यौपाने, डोटीबाट गौरी ओली र कास्की–२ बाट विद्या भट्टराई रहेका छन् । यसैगरी नेपाली कांग्रेसबाट पाँच जना महिलाले उमेदवारी दिएका छन् । अर्घाखाँचीबाट कांग्रेस नेत्री तथा पूर्वउपसभामुख पुष्पा भुसाल, तेह्रथुमबाट सीता गुरुङ, मोरङ–२ बाट सुजाता कोइराला, सिरहा–२ बाट चित्रलेखा यादव र मकवानपुर–१ बाट महालक्ष्मी उपाध्याय ‘डिना’ को उमेदवारी परेको हो ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)बाट काठमाडौँ–२ बाट ओनसरी घर्ती, काठमाडौँ–९ बाट कल्पना धमला, काठमाडौँ–७ बाट मानुषी यमी भट्टराई, ललितपुर–३ बाट पम्फा भुसाल र दाङ–२ बाट रेखा शर्मा गरी पाँच महिला चुनावी मैदानमा उत्रिएका छन् । नेकपा (एकीकृत समाजवादी)बाट गुल्मी–२ मा रामकुमारी झाँक्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मोरङ–३ मा रेखा थापा चुनावी मैदानमा होमिएका छन् ।

निर्वाचन आयोगले असोज २३ गते आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म भएको मनोनयनपत्र दर्ताका लागि समय दिएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवारहरूले सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गराएका थिए ।

पुुरुषको तुलनामा महिलाको उमेदवारी सन्तोषजनक छैन । निर्वाचन आयोगको सोमबार साँझसम्मको विवरण अनुसार दुई सय ३५ महिलाले उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता गरेका छन् जवकी प्रतिनिधिसभा तर्फ मनोनयन दर्ता गराउने पुरुषको संख्या २ हजार २९१ छ ।

मनोनयन दर्ताको विवरण आउने क्रम जारी रहेकोले केही संख्या थपिन सक्ने आयोगले जनाएको छ । हालसम्मको यस तथ्याकं अनुसार महिलाको उम्मेदवारी लगभग ९.१ प्रतिशत मात्र देखिएको छ । यसैगरी प्रदेशसभा अन्तर्गत तीन हजार चार सय ७६ जनाले मनोनयन दर्ता गराउँदा महिलाको भागमा दुुई सय ९७ मात्र परेको छ । प्रदेश सभाको लागि तीन हजार ९९ पुरुषले उमेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवत्ता शालिग्राम पौडेलका अनुसार प्रदेशसभातर्फ २२० सिटका लागि २ हजार ८४५ जनाको उम्मेदवारी परेको छ। प्रदेश १ मा ४९५, मधेसमा २२८, वागमतीमा ६३५, लुम्बिनीमा ४३७, कर्णालीमा ८१ र सुदूरपश्चिममा २०३ जनाले प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्।