काठमाडौँ २३ असोज
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका दिन निर्वाचन आयोगले यातायात सञ्चालन गर्न दिने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको दिन व्यवस्थित ढंगले यातायात सञ्चालन गर्न अनुमति दिने तयारी आयोगले गरेको जानकारी दिए ।
थपलियाका अनुसार यसका लागि निर्वाचन आयोग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, गृह मन्त्रालय रहेको कार्यदल गठन गरेको र सो कार्यदलले दिएको सुझावका आधारमा आयोगले सो दिन यातायात चलाउन अनुमति दिइने छ । विगतमा निर्वाचनको दिन यातायता बन्द गर्दा मतदाताहरुलाई समस्या पर्ने गरेको गुनासो आयोगमा आएको थियो ।
यस निर्वाचनका लागि मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता सङ्ख्या रहेका छन् । यसमा पुरुष मतदाताको सङ्ख्या ९१ लाख ४० हजार आठ सय ६, महिला मतदाताको सङ्ख्या ८८ लाख ४७ हजार पाँच सय ७९ र अन्य एक सय ८५ रहेका छन् । निर्वाचनका लागि देशभर १० हजार आठ सय ९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।
निर्वाचनका लागि आयोगले यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी एक सय ६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।