काठमाडौं,२९ भदौ
प्रतिनिधि सभाका सांसदहरु विदामा बस्न थालेका छन् । प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा सांसदहरुले औपचारिक रुपमा बिदा लिन थालेका हन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउन खोजेको भन्दै १९ भदौमा सांसद पदबाट राजीनामा दिएको बताएका थिए ।
१९ भदौमा बसेको बैठकमा उनले यस मौजुदा संसद बैठकमा सहभागी नहुने भन्दै आफूले पाउने तलबभत्ता र सुविधा नपठाउन सभामुख र सचिवालयका कर्मचारीलाई आग्रह गरेका थिए । उनले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । उनको सिको गर्दै २९ भदौमा बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सबैलाई धन्यवाद दिँदै अब यस मौजुदा संसदमा सांसदमा रुपमा उपस्थित नहुने बताएका छन् ।
निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाएसँगै मौजुदा संसदको कार्यकाल सकिने भन्दै पत्राचार गरिसकेको छ । यसअनुसार १ असोजबाट मौजुदा प्रतिनिधिसभाको कार्यकाल सकिनेछ ।
बुधबार बसेको बैठकको शून्य समयमा कांग्रेसकी रंगमती शाहीले शून्य समयमा बोल्ने आफ्नो अन्तिम रहेको भन्दै सबैलाई आगामी निर्वाचनमा जितेर आउन शुभकामना दिँदै बिदा लिएकी छन् । यसैगरी जसपाकी रेनुका गुरुङले पनि सबैलाई शुभकामना दिँदै बिदा लिएकी छन् । कांग्रेसका भरतकुमार साहले पनि सभामुख, उपसभामुख, सांसद सबैलाई धन्यावाद दिएका छन् ।