neapl investment mega bank
  • गृहपृष्ठ
  • घरबहाल कर नबुझाएको भन्ने महानगरको सूचनाप्रति वीर अस्पतालको आपत्ति

घरबहाल कर नबुझाएको भन्ने महानगरको सूचनाप्रति वीर अस्पतालको आपत्ति

Sep 13th, 2022

काठमाडौं, २८ भदौ

काठमाडौँ महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति वीर अस्पतालले आपत्ति जनाएको छ । अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ ।

वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रले महानगरले यस्तो तथ्य सार्वजनिक गर्नुअघि पत्र लेखेको भए यस विषयमा जानकारी गराइने उल्लेख गर्दै संवेदनशील संस्थाका विषयमा गलत तथ्य बाहिर ल्याएको बताए ।

स्थानीय तह सञ्चालन ऐन आउनुअघिदेखि वीर अस्पतालले राजस्व कार्यालयमा कर दाखिला गर्दै आएकामा अहिले पनि त्यसै गरिरहेका छौँ, राजस्व कार्यालयमा बुझाउने कर महानगरपालिकामा परिवर्तन गर्न पत्र नआएका कारण पहिले जसरी नै तिरेको उनको तर्क छ ।

दैनिक करिब दुई हजार पाँच सय बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

धेरै बिरामी चापका कारण त्यसको व्यवस्थापनमै कर्मचारी व्यस्त हुने गरेको उल्लेख गर्दै सूचना अधिकारी मिश्रले स्थानीय केन्द्र सरकारलाई बुझाइरहेको कर स्थानीय सरकारलाई बुझाउने विषयमा अस्पष्टताका कारण यस्तो भएको हुनसक्ने सुनाए ।

वीर अस्पतालको भवनमा विसं २०७२ देखि फार्मेसी सञ्चालन गर्दै आएका नवराज खनाल घरबहाल कर अस्पताललाई नै बुझाउने गरेको बताउछन् ।

महानगरपालिकाले घरबहाल कर नपाएको सूचना सार्वजनिक गरेपछि आफूहरूले पनि यस विषयमा अस्पताल प्रशासनलाई जानकारी गराएको उनले सुनाए। अस्पतालसँग वार्षिक सम्झौता गरी भाडा र कर बुझाउने गरेको व्यवसायी बताउँछन् ।

यता अस्पतालमा उपचारका लागि आउने बिरामीले भने वीर अस्पताल अव्यवस्थित भएको गुनासो गरेका छन् । टिकट लिने स्थल, प्रयोगशाला र बहिरङ्ग विभागसमेत अस्तव्यस्त रहेको उपचारका लागि आएका नुवाकोटका आइते तामाङले गुनासो गरे। अस्पताल पहिलेभन्दा अव्यवस्थित भएको उनको भनाइ छ । नयाँ बनेको भवन विसं २०७८ असारमा उद्घाटन गरेको शिलालेख रहेकामा भित्रका संरचना बिग्रिएको भेटिएको छ ।