काठमाडौं २६ भदौ
यही भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुुगेकोले यही ३१ गते सार्वजनिक गर्ने योजना रहेको उनले बताए ।
सोमबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यसअघिको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनभन्दा कम खर्च हुने गरी आगामी मंसिर ४ गतेको निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको पनि बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले दल र त्यसका उम्मेदवारहरूलाई निर्वाचन आचारसंहिता र कानुन विपरितका गतिविधि हुन नदिन आयोगले आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरेको समेत जानकारी दिए ।
आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आचारसंहिता विपरितका गतिविधि हुन नदिन सुक्ष्म अनुगमनको व्यवस्था गरेको जनाएको छ ।