neapl investment mega bank

बालेन शाहका सय दिन

Sep 4th, 2022

काठमाडै १९ भदौ

काठमाडौं महानगरको नेतृत्वमा निर्वाचित भएको एक सय दिन पुरा गरेका मेयर बालेन शाहले आफूहरु सय दिनको दौडमा नभई ५ वर्षका लागि तय गरिएका योजनाहरुमा काममा केन्द्रीत रहेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले आफूहरु अझै केही समय गाली र आलोचनामात्रै सहन तयार रहेको तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नभएको बताएका छन् । आफू र आफ्ना कामप्रति विश्वास र समर्थन गर्नेहरुलाई आफूहरुलाई निराश नबनाउने उनले बताएका छन् ।

१. फुटपाथबाट मकैको ठेला हटाएको : यो सन्दर्भले अझै पनि वास्तवमा के हो भन्ने एक किसिमको धर्मसंकट महसुस हुन्छ । तर अन्तिममा के लाग्छ भने आफूले पाएको अभिभारा पूरा गर्न भावनात्मक मात्रै भएर हुन्न । फुटपाथको आधारभूत निर्माण नै पैदलयात्रुहरुको लागि हो । सहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुन्छ । महानगरले पहिले फुटपाथका व्यापारीहरुलाई अन्यत्र राखेर खुल्ला गर्ने कोसिस गरेको थियो, जुन पूर्णरुपमा असफल भएको थियो । दिएको ठाउँ पनि भरिने र पुनस् फुटपाथमा नयाँ व्यापारीहरु आइपुग्ने क्रम देश नै समृद्ध नहुन्जेल भइरहने कुरा हो । यो चक्र तोड्न महानगरको कार्यक्षेत्र र क्षमताले भ्याउने जे थियो, त्यही गरियो र गरिँदैछ । यदि हामी महानगरमा नभएर संघीय सरकारमा भइदिएको भए हामीले गर्ने प्रयास फरक हुन सक्थ्यो । योभन्दा अलग किसिमले राष्ट्रियस्तरमा नै यसको समाधान गर्न खोजिन्थ्यो होला । हाम्रा लागि यो सम्भावनाको कुरा मात्र हुन्छ । हामीले वास्तविकतामा उभिएर समाधान खोज्दा जे गर्नु पर्थ्यो, त्यहि गर्यौँ । जसको नतिजा बानेश्वर तथा असन लगायतका क्षेत्रहरुमा सकारात्मकरुपमा देखिन थालेको छ ।

२. ई–स्पोर्ट्सलागि १ करोड : गीत गाउने, नाच्ने जस्ता कलाकारहरुप्रति केही पहिलेसम्म समाज अनुदार नै थियो । त्यसमा पनि महिला कलाकारहरुका लागि त सम्मानभन्दा पनि अफ्ठ्यारा बढी थिए । तर अहिले अवस्था फेरिएको छ । यतिसम्म कि यी सम्बन्धित रियालिटी सोहरुमा जित्नका लागि परिवारले नै लगानी गर्ने तथा सानै उमेरदेखि नाच्न, गाउन तालिम दिने क्रम बढेको छ । यो हामीले देख्दादेख्दै भएको परिवर्तन हो । त्यस्तै परिवर्तन खेल क्षेत्रमा पनि भइरहेको छ । इस्पोर्ट्स पनि खेलका रुपमा भविष्यको आम्दानीको क्षेत्र तथा राष्ट्रिय गौरवको विषय बन्दैछ । त्यसमा हामी तयार हुने कि नहुने रु त्यो परिवर्तनलाई आत्मसाथ गर्ने कि नगर्ने रु यो प्रश्न प्रमुख थियो । हामीले त्यो परिवर्तनलाई समाजमा स्थापित गर्नका लागि बजेट छुट्यायौँ । बजेट छुट्याउने बित्तिकै आएका प्रतिक्रिया र मानिसहरुले बुझ्दै गएपछि आएका प्रतिक्रियाहरु फरक पर्न थाले । इस्पोर्टसमा हामीले चाहे जस्तै कार्यक्रम भए पछि हामीले बजेट छुट्याउनुको उपादेयता पनि हासिल हुन सक्ला । त्यो दिन पर्खौँ ।

३. यमबुद्धको सालिक : एउटा कलात्मक पार्कभित्रको सानो अंगकारुपमा यमबुद्धको सालिक बनाउने सन्दर्भ थियो त्यो । बुँदा २ मा इस्पोर्ट्सको सन्दर्भ जस्तै हिपहप र त्यसको नेपालीकरण नेपहप संगीतमा नयाँ विधा हो । यमबुद्ध सो विधाका लागि अत्यन्तै सम्मानित नाम हो । आफू त्यो विधा नजिक भएकाले त्यसलाई थप सम्मानित र व्यवस्थित बनाउन भूमिका हुनु पर्छ भनेर त्यो सोच ल्याइएको थियो । बजेटमा पार्क मात्रै भनेर पछि खुसुक्क सालिक बनाइँदा कसैलाई वास्ता नहुन पनि सक्थ्यो । तर बजेटमा धेरै भन्दा धेरै पारदर्शीता चाहिन्छ भनेर त्यो बेग्लै बुँदामा राखियो । आममानिसबाट आएका प्रतिक्रियाले हामीले निर्णयमा केही फेरबदल गर्यौँ । यति हुँदाहुँदै पनि समाजको एउटा पुस्ताको ठूलो संख्याले आफ्नो भविष्य र कलामा सम्भावना खोजिरहेको कुरालाई स्थापित गराउन बहस र छलफल गराउन सकेकोमा गौरवबोध नै भएको छ ।

४. कार्यक्रममा मद्यपान र मुकुट परिवर्तन : मान्छे एउटै जीवनभित्र फरक फरक भूमिकामा हुन्छ । म कार्यालयमा मेयर भएर व्यवस्थित भइरहँदा घरमा छोरोको रुपमा अव्यवस्थित, पतिकारुपमा प्रेमील र साथीहरुसँग जिस्किँदै फुटसलमा रमाइरहेको हुन सक्छु । यी हरेक भूमिकाका लागि अर्को भूमिकाभन्दा विपरीत हुनु पर्ने पनि हुन सक्छ । माहोलले पनि फरक पार्न सक्छ । कार्यक्रमको चर्चाका लागि वा माहौललाई रोचक बनाउन म छुट्टै अभिनय गरिरहेको हुन पनि सक्छु । यी सबै कुरालाई सोहीरुपमा बुझिदिनु हुन आग्रह गर्दछु । सँगसँगै, सार्वजनीक व्यक्तित्व भएको कारणले समाजमा आफ्ना कार्यहरुले पार्न सक्ने प्रभावका बारेमा भने सजग रहेको जानकारी गराउँदछु ।

५. फोहोर व्यवस्थापनमा ढिलाइ : यसमा के स्विकार्नु पर्दछ भने १०० भित्र फोहोर व्यवस्थापनका सन्दर्भमा हामीले जस्तो सोचेका थियौँ, हुबहु हुन सकेन । तर झन्डै २ दशकदेखि कुहिएर रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौँ । यसबाट वास्तविक समस्याहरुको पहिचान भएर दिगो समाधानका योजनाहरु बनाउन सक्ने भएका छौँ ।

६. नर्भिक लगायतको अनधिकृत संरचना हटाउने सन्दर्भमा : जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यहीरुपमा प्रयोग हुनु पर्छ । हामीले चाहेको यति मात्रै हो । कुनै पनि शर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौँ । यी कतिपय सन्दर्भमा हामीले सम्मानित अदालतका सन्दर्भमा बोल्यौँ, सम्बन्धित व्यक्तिसामू चर्कोस्वरमा आक्रोश पोख्यौँ । आममानिसहरुको आवाज हामीले सम्बन्धित ठाउँसम्म पुर्याउँने सेतुका रुपमा मात्रै हामीले ती कार्यहरु गरेका छौँ । सायद जनप्रतिनिधि हुनुको औचित्य पनि त्यही हो ।