neapl investment mega bank
  • गृहपृष्ठ
  • अनधिकृत संरचना हटाउने अभियानप्रति म संधै सचेत रहने छु -उपमेयर डंगोल

अनधिकृत संरचना हटाउने अभियानप्रति म संधै सचेत रहने छु -उपमेयर डंगोल

Aug 28th, 2022

काठमाडौ १२ भदौ

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरभित्र बनेका अनधिकृत संरचना भत्काउने अभियानमा आफ्नो पनि समर्थन रहेको बताउँदै सञ्चरमाध्यमले यस विषयमा आफ्नाविरुद्ध भ्रम सिर्जना गर्नेगरी समाचार प्रकाशन गरेकोमा आपत्ति जनाएकी छन् ।

उपमेयर डंगोलले एक अपिल जारी गर्दै अवैध संरचना हटाउने अभियान महानगरपालिकाको भएकाले त्यसमा आफ्नो साथ र सहयोग रहने स्पष्टीकरण दिएकी हुन्।

यस्तो छ डंगोलको अपिल

सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना ९निर्माण कार्य तथा नक्सा स्वीकृति गर्दा भुइँतला वा बेसमेन्टलाई पार्किङको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना० हटाउने कार्यलाई केही दिनदेखि काठमाडौँ महानगरपालिकाले निरन्तरता दिदैँ आएको विदितै छ। त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौँ महानगरपालिकाको हो। म काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा छु। त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु।

काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने मेरो एजेन्डाप्रति म सजग र सचेत रहेको पनि स्मरण गराउन चाहन्छु। तर, केही दिनदेखि मुख्य गरेर केही अनलाइन मिडियाहरूमा महानगरपालिकाको पछिल्लो अभियानसँग मलाई जोडी आम महानगरवासीमा समेत भ्रम सिर्जना गर्नेगरी गरेका समाचार सम्प्रेषणप्रति मेरो ध्यानाकर्षण भएको छ।

पत्रकारिता क्षेत्रलाई राष्ट्रको चौथो अंगका रूपमा लिइने गरिएको छ। पत्रकारिता क्षेत्रमै निरन्तर लागिरहनुभएका पत्रकार मित्रहरूलाई पत्रकारिताका तीन सिद्धान्त सत्यता, सन्तुलन र विश्वसनीयताका बारेमा मैले यहाँ व्याख्या गरिरहनु पर्ने आवश्यकता ठानेको छैन।
यद्यपि पत्रकारिताको धर्म र मर्मलाई समेत सामान्य हेक्का नराखी वा मसँग जोडिएका समाचारमा मेरो कुनै प्रतिक्रिया नै समावेश नगरी एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यले पत्रकारिताप्रतिको विश्वसनीयता नै कमजोर हुनेप्रति ख्याल राखिदिनुहुन अनुरोध गर्दछु।