काठमाडौँ ८ भदौ
चालु आर्थिक वर्ष २०७९ ८० को पहिलो महिनामा आयात १९ अर्ब रुपैयाँले घटेको छ । भन्सार विभागले प्रकाशित गरेको तथ्याङ्कअनुसार साउन महिनामा आयात १९ अर्ब ४४ करोड ५६ लाख ५३ हजार रुपैयाँले अर्थात १२.९० प्रतिशतले घटेको हो ।
नेपालले साउन महिनामा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु आयात गरेको तथ्याङ्कमा उल्लेख छ । गत बर्ष साउन महिनामा नेपालले १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजारको वस्तु आयात गरेको थियो ।
त्यस्तै, यस अवधिमा निर्यातसमेत ५ अर्ब ९५ करोड ५४ लाख १७ हजार रुपैयाँ अर्थात २८।६८ प्रतिशतले घटेको छ । गत वर्षको साउन महिनामा नेपालले २० अर्ब ७६ करोड ५१ लाख १७ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।
चालु आवको सोही अवधिमा नेपालले १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात गरेको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै, गत वर्षको तुलनामा यो वर्ष व्यापार घाटा पनि १०.३८ प्रतिशतले कम भएको छ । साउन महिनामा नेपालले १ खर्ब १६ अर्ब ४७ करोड ६३ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको छ ।
गत वर्षको सोही अवधिमा नेपालले १ खर्ब २९ अर्ब ९६ करोड ६६ लाख रुपैयाँ व्यापार घाटा रहेको थियो जुन १३ अर्ब ४९ करोड २ लाख ३७ हजार रुपैयाँ कम हो ।
त्यसैगरी, सो अवधिमा नेपालले १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले १ खर्ब ७१ अर्ब ४९ करोड ६८ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।
साउनमा सरकारले आयातित वस्तुबाट ३१ अर्ब ९६ करोड १६ लाख रुपैयाँ राजस्व महसुल सङ्कलन गरेको छ ।
साउन महिनामा नेपालले सबैभन्दा बढी डिजेल ८ अर्ब ९८ करोड ९ लाख रुपैयाँ, पेट्रोल ६ अर्ब ३८ करोड ५९ लाख रुपैयाँको, कच्चा भटमासको तेल ६ अर्ब १९ लाख रुपैयाँ, एलपीजी ग्यास ५ अर्ब २७ करोड ८० लाख रुपैयाँ र कच्चा पाम तेल ४ अर्ब १६ करोड ३६ लाख रुपैयाँको तेल आयात गरेको छ ।
त्यस्तै, नेपालले सोही अवधिमा नेपालले सबैभन्दा बढी भटमासको तेल १ अर्ब ५९ करोड ६२ लाख रुपैयाँको पामोलिन तेल १ अर्ब ४४ करोड ३७ लाख रुपैयाँको पाम तेल २ अर्ब ७२ करोड ५० लाख रुपैयाँको, कार्पेट १ अर्ब १ करोड ७६ लाख रुपैयाँको, फेल्ट ९२ करोड २१ लाख रुपैयाँको र चिया ६२ करोड १ लाख रुपैयाँको निर्यात गरेको तथ्याङ्कमा उल्लेख छ ।