काठमाडौं २८ साउन
काठमाडौं महानागरपालिकाका मेयर बालेन शाहले त्रिवि शिक्षण अस्पतालमा रहेकी निहारिका राजपुतलाई भेटेका छन् । अस्पतालमा रहेकी निहारिकालाई भेटेपछि सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गर्दै मेयर शाहले उनको माग जायज भएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन् ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।
बलात्कारबाट जन्मिएको आफ्नो बच्चाको डिएनए परीक्षण गर्न माग गर्दै निहारिका काठमाडौंको माइतीघरमा लामो समयदेखि आन्दोलनरत छिन् ।केही समयअघि गृह मन्त्रालयले उनको मागमाथि छानबिन गर्ने आश्वासन दिएपछि आन्दोलन रोकेकी थिइन । तर मन्त्रालयले प्रतिबद्धता जनाएअनुसार काम सुरु नगरेपछि उनी पुनः काठमाडौं आएकी छिन् ।
यही क्रममा उनले शुक्रबार राष्ट्रपति कार्यालयअघि आत्महत्याको प्रयास समेत गरेकी थिइन ।