neapl investment mega bank
  • गृहपृष्ठ
  • महानगरले दियो नर्भिक हस्पिटललाई संरचना हटाउन थप समय

महानगरले दियो नर्भिक हस्पिटललाई संरचना हटाउन थप समय

Aug 9th, 2022

काठमाडौं २४ साउन

नर्भिक हस्पिटललाई नियमविपरीत बनाइएको संरचना हटाउन काठमाडौं महानगरपालिकाले थापाथलीस्थित थप समय दिएको छ । महानगरले सोमबार २४ घण्टाभित्र संरचना हटाउन निर्देशन दिएको थियो । तर मंगलबार प्राविधिकको सुझावअनुसार संरचना हटाउन समय दिन सहमति जनाएको हो ।

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले सोमबार नर्भिक हस्पिटल परिसरको अवलोकनपछि २४ घण्टाभित्र सरकारी जग्गामा नियमविपरीत बनाइएका संरचना हटाउन निर्देशन दिएका थिए । मंगलबार दिउँसो नर्भिक हस्पिटलले सरकारसँग सम्झौता गरेर जग्गा भाडामा लिएर संरचना बनाएको बताएपछि अपरान्ह मेयर साह पुनः नर्भिक हस्पिटल पुगे । सो क्रममा मेयर बालेनसहित महानगर प्रतिनिधि र हस्पिटलका प्रतिनिधिबीच दुवै पक्षका प्राविधिकले दिएको सुझावका आधारमा संरचना हटाउने सहमति भएको हो ।

अक्सिजन प्लान्ट र एमआरआई कक्ष रहेकाले यी संरचना हटाउन प्राविधिकले दिने समयभित्र हटाउन नर्भिक राजी भएको हो ।

नर्भिकका प्रतिनिधिसँग मेयर बालेनले मन्त्रिपरिषद्बाट जग्गा र संरचना बनाउन अनुमति दिनेगरी निर्णय गराएर नक्सा पास गरेको महामनगरलाई आपत्ति नरहेको बारम्बार बताए । आफूले नियमसंगत खोजेको र कानुन कार्यान्वयन तथा कानुनले कसैले विभेद गर्न नहुने पक्षमा रहेको मेयस बालेनको भनाइ थियो ।

नर्भिक हस्पिटलले भाडामा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौताविपरीत र नक्सा पास नगरी टहरा बनाएकोले भत्काउनुपर्ने महानगरको अडान छ ।

नर्भिक पुगेका मेयर बालेनले सरकारी जग्गामा नक्सा पास नगरिकन संरचना बनाउन नपाइने भन्दै हस्पिटलका प्रतिनिधिलाई बारम्बार सम्झाएका थिए । त्यसपछि नक्सा पास गर्न आफूहरु तयार रहेको हस्पिटलका प्रतिनिधिले पनि बताए । यसका लागि समय दिन माग गरेपछि दुवै पक्षका प्राविधिकले भनेअनुसार समय उपलब्ध गराउन मेयर बालेन सहमत भएका हुन् ।