काठमाडौ १२ साउन
राष्ट्रिय सभाले नागरिकता ऐनको संशोधन विधेयक पारित गरेको छ । आज बसेको राष्ट्रिय सभाको बैठकले सो विद्येयक पारित गरेको हो । यस संगै सो विद्येयक संसदका दुबै सदनबाट पारित भएको छ।अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक कानुनका रूपका लागू हुनेछ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयक
बहुमतले पारित गरेको हो। गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐनको संशोधन विधेयक पारित गर्ने प्रस्ताव राष्ट्रिय सभामा गरेका थिए।
नागरिकता विधेयक पारित भएसँगै अव जन्मको आधारमा नागरिकता पाएका (जन्मसिद्ध नागरिक) हरूका सन्तानलाई नागरिकता प्राप्त गर्न बाटो खुलेको छ ।
नेपालमा झन्डै १ लाख ७० हजार जनाले जन्मसिद्ध नागरिकता प्राप्त गरेका छन्।
त्यस्तै आमाको नामबाट मात्र पनि नागरिकता पाइने भएको छ। यसको लागि भने चार वटा शर्त भने विधेयकले राखेको छ। नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएको, नेपालमा नै बसोबास गरेको, बाबुको पहिचान हुन नसकेको र त्यस्तो पहिचान हुन नसकेको भन्दै स्वघोषणा गर्ने व्यक्तिले आमाको नामबाट मात्र वंशजको नागरिकता पाउने विद्येयकमा उल्लेख छ ।
यसैगरी विधेयकले पहिलोपटक गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खोलेको छ । विदेशमा रहेका कुनै पनि नेपालीका बावु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन्।
साथै विधेयकले विदेशी पुरुषसँग विवाह गरी नेपाली नागरिक महिलाबाट विदेशमा जन्म भएका सन्तानलाई पनि नेपाली नागरिकता दिने व्यवस्था गरेको छ। विद्येयकले नेपालमा फेला परेका मातृत्व र पितृत्व ठेगान नभएका व्यक्तिले नागरिकता प्राप्त गर्ने व्यवस्था गरेको छ । उनीहरुले बालमन्दिर, अनाथालय जस्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त संस्थामा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सोको आधारमा सम्बन्धित स्थानीय तहले गरेको सिफारिस पेश गरेपछि नागरिकता पाउनेछन् ।