काठमाडौँ ७ साउन
पूर्व अर्थमन्त्री बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको भन्ने आरोपको इन्कार गरेका छन् । संसदीय विशेष छानबिन समितिले पूर्वअर्थमन्त्री शर्मासँग बिहीबार बिहान करिब ३ घण्टा बयान लिएको थियो । तर उनले
बजेट निर्माणका क्रममा बाहिरका मान्छे प्रवेश नगरेको बताएको समितिका एक सदस्यले जानकारी दिए ।
बयानका क्रममा शर्माले बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन, पसेको भए थाहा भइहाल्थ्यो नि भनेर उम्कीएको स्रोतले वताएको छ । चर्को दवावपछि पदबाट राजिनामा दिएका शर्माको छानविन कार्य भने अन्योलमै छ । समितिले शर्मा प्रकरणसंग सम्वन्धित सबै व्यक्तिलाइ सोधपुछ गरेको छ तर केही तथ्य फेला पार्न सकेको छैन ।
समितिले गत बुधबार तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेरमा संलग्न गराएको भन्ने समाचार लेख्ने पत्रकारसँग पनि छलफल गरेको थियो ।
समितिले बुधबार अन्नपूर्ण पोस्ट पत्रकारहरू सुरेन्द्र काफ्ले र ममता थापासँग छलफल गर्दा ति पत्रकारहरुले समाचारको स्रोत समितिलाई दिन नमानेको स्रोतले वताएको छ । यसैगरी समितिले बजेट निर्माणमा संलग्न अर्थमन्त्रालयका १० अधिकारीसँग छलफल गरिसकेको छ ।
अर्थ सचिवहरू मधुकुमार मरासिनी र कृष्णहरि पुष्कर राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बराल, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, प्रशासन महाशाखा प्रमुख केदार शर्मा, भन्सार विभागका महानिर्देशक कमल भट्टराई, आन्तरिक राजश्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, सूचना प्रविधि हेर्ने उपसचिव ठेकु श्रेष्ठ, राजश्व व्यवस्थापन महाशाखाका उपसचिवहरू सरद निरौला र गोपाल खत्रीसँग छलफल गरिसकेको छ ।
लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव र मानबहादुर विश्वकर्मा सदस्य रहेको संसदीय विशेष छानबिन समितिको काम गर्ने अवधि सकिनै लाग्दा पनि छानबिनको टुंगो लागेको छैन ।