neapl investment mega bank
  • गृहपृष्ठ
  • पाठक विचारः अरुमाथि हिलो छ्यापेर आफु चोखो बन्ने काम कसैले पनि नगरौं

पाठक विचारः अरुमाथि हिलो छ्यापेर आफु चोखो बन्ने काम कसैले पनि नगरौं

Jul 12th, 2022

अनुशा थापा

नेपालको अर्थतन्त्रले अहिले व्यापक चर्चा पाएको छ । सदनदेखि सडकसम्म अर्थतन्त्रकै चुरोकुरो उठिरहेको छ । अस्तिका दिन विपक्षीका दल केपी शर्मा ओलीले सदनमा उभिएर नेपालको अर्थतन्त्र श्रीलंकाजस्तै बनिसकेको बताए । यता, उनले भनेको यो कुरा अहिलेको अवस्थासंग मिल्दोजुल्दो छ । इन्धनको अभाव, मँहगी निरन्तर बढ्नु र वित्तिय संस्थामा तरलता बढनुले हरेक नेपालीले अर्थतन्त्र नाजुक स्थितिमा पुगेको अनुमान लगाएका छन् । सरकारले जति लुकाउन खोजेपछि यो कुरा विस्तारै आउदै छ । राजनीतिक दल र जनताले अर्थतन्त्रलाई लिएर टिकाटिप्पणी गर्न थालेका छन् । मुलुक कतातिर जान्छ भनेर अधिकांशले अड्कलबाजी गर्न थालिसकेका छन् ।
साँच्चै नै अर्थतन्त्र धरासायी बनिसकेको हो ? विपक्षीको पार्टीले तारन्तार एउटै कुरा भनेको भन्यै छ । एकातिर अर्थतन्त्र सकियो भनेर सदनमा चिच्चाउछन् । अर्कोतिर, अर्थमन्त्रीको राजीनामा माग गरेको गप्यै छन् । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिएमा लछार्ने धम्कीसमेत सदनमा सुनियो । कतै ओलीले सरकारमाथि हिलो छ्यापेर आफ्नो चोखो बन्ने खेल त रचेका छैनन् । सरकारले करको दायरा परिवर्तन गरेपछि एमालेका उद्योग व्यवसायीहरुले विरोध गरिरहेका छन् । उद्योग व्यवसायीसंग लिएको पैसा पचाउनका लागि विरोध गरिएको बुझिएको छ । आफ्नो कार्यकर्ता रिसाउछ भनेर अर्थमन्त्रीको राजीनामा मागेको माग्यै छ । देशको प्रधानमन्त्री भइसकेको व्यक्तिलाई दही चिउरे कुरा गर्न लाज लाग्दैन् ।
कर घटाउनका लागि विपक्षीका दलले आर्थिक चलखेल गरेर त बुरुकबुरुक उफ्रिएका होलान् । देशको अर्थतन्त्र जोखिममा पप्यो भन्दै अर्थमन्त्रीलाई खेदो गर्ने । डुबिसकेको अर्थतन्त्र अर्थमन्त्रीले राजीनामा दिदैंमा फिर्ता आँउछ । यसमा सरकारदेखि विपक्षी दल सबैको हात छ । एउटाले यताबाट खुट्टा तान्ने अर्कोले उताबाट । अनि कसरी देश सुध्रिन्छ । सदनमा उभिएर ओलीले सेयरको कुरा पनि उठाए । सेयरवाला डुबे भनेर उनी सदनमै उफ्रिए । अहिले जतिपनि सेयरमा लगानी छ ती मध्ये ६० प्रतिशत एमालेका कार्यकर्ता हुन् । आफै पर्दाभत्र बसेर अनशन बस्न लगाउने अनि आरोप सबै सरकारलाई लगाउने । सेयरको मूल्य घट्नको कारण ओली नै हो । सेयरमा समेत राजनीति छिराइयो जसले गर्दा सेयरमा लगानीकर्ताहरुको आज रुवावासी चलेको छ । आफै कुट्ने अनि आफै फकाउने ओली त्यस्ता व्यक्ति हुन् ।
विदेशी मुद्राको सञ्चिति सकिदै गएको र अर्थतन्त्र सिद्धिएकै हो भने अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले यथार्थ कुरा किन बाहिर ल्याउदैन् । विपक्षीको दलले यसरी आरोप लगाइरहदा सरकार किन मौन छ ? विपक्षी दल गलत हो भने उसलाई कारकाही गर्नुपप्यो । जहिले पनि एउटै कुरा कति उचालिरहने । यहाँ दनदनी बलेको आगोमा पेट्रोल छर्किने काम भइरहेको छ । एमालेबाट अर्थमन्त्री भइसकेका व्यक्तिहरुले हरेक कार्यक्रममा अर्थतन्त्र डामाडोल भइसकेको कुरा मात्र उठाइरहेका छन् । सरकारले यो कुरा लुकाएर राखेको उनीहरु आरोप लगाइरहेका छन् । यता, राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अबको तीनदेखि छ महिनाभित्र नेपाल श्रीलंकाकै अवस्थामा आउने बताउछन् । बढ्दो व्यापार घाटा र विदेशी मुद्राको सञ्चितिमा कमी आएको उनी बताउछन् ।
यता, नेपाल आयल निगम टाँट पल्टिसकेको छ । पेट्रोलियम पदार्थ आयात गर्न नसक्ने स्थितिमा छ आयल निगम । निगमका निर्देशकले समेत अर्थतन्त्रले धेरै समय धान नसक्ने दाबी गरेका छन् । नेपाल पनि श्रीलंकाकै बाटोमा हिडिरहेको बताइन्छ । यता, उद्योग व्यवसायी महासंघका अध्यक्ष शेखर गोल्छाले पनि उही कुरा बताए । होटल, पर्यटनलगायत सम्पुर्ण व्यवसायी डुबिसकेको उनी बताउछन् । थप लगानी गर्न पैसा नभएको उनको भनाइ छ । नयाँ उद्योगमा लगानी गर्ने पनि ठप्प भएको छ । यसको स्पष्टीकरण कसले दिने ? जनतामा त त्रास देखिन थालेको छ । ओलीले त्यति भन्नेबित्तिकै वित्तिय संस्थाबाट पैसा निकाल्नेको संख्या ह्वात्तै बढेको छ । भटाभट जनताले पैसा निकाल्न थाले भने एक सातामा वित्तिय संस्था पनि रित्तिन्छ ।
देश सकिएकै हो कि एमालेले सकाउन खोजेको हो ? सडकदेखि सदनसम्म एमाले नेतादेखि कार्यकता कराइरहेका छन् । अर्थमन्त्रीलाई कुर्सी छोड भनेका भन्यै छ । अर्थतन्त्र साँच्नै नै सकिएकै हो भने प्रधानमन्त्रीको राजीनामा माग्नुपप्यो । सरकारकै परिवर्तनमा ल्याउन माग गर्नुपर्ने होइन र ? जतिबेला पनि एउटै विषयमा भाँडभैलो मच्चाइरहेका छन्, एमाले । अर्थमन्त्रीलाई हटाउनेबित्तिकै पाँच दलीय गठबन्धन फुट्छ र अर्कोचोटि बहुमतका साथ चुनाव जित्न सकिन्छ भनेर एमालेले बल लगाइरहेको छ । ओली र एमालेका सांसद्हरुको कोठे राजनीति यही नै हो । जति नै ठूला कुरा गरेपनि एमालेले जनताबाट विश्वासनियता गुमाइसकेको छ । आफुले दुईचोटि विद्यटन गरेको संसद्मा बसेर ओलीले तीन घण्टा भाषण दिए । सदन नौ महिना अवरोध गप्यो तर तलबभत्ता खाइरहे । अहिले पनि संसद्मा बाङगा कुरा गरेर संसद् चलाउन दिइरहेका छैन् । अझै पनि जनताले मलाई पत्याउछन् भन्नु भ्रममा जिउनु मात्र हो ।
श्रीलंका एकैचोटि त्यस्तो स्थितिमा पुगेको होइन् । मँहगी बढ्यो भनेर त्यहाको सरकारले कर घटायो । लोकप्रिय हुनका लागि सरकारले देशै संकटमा पुप्याउने निर्णय गरे । यता, नेपाल सरकारले पनि हालसालै पेट्रोलियम पदार्थमा लिनुपर्ने कर घटाएको छ । जनतासंग लिनुपर्ने कर पनि राज्यले उठाउन सकिरहेको छैन् । विदेशीसंग ऋण लिएर सरकारी कर्मचारीलाई तलबभत्ता खुवाउने काम भइरहेको छ । यसले पनि नेपालीलाई सोचमग्न बनाइदिएको छ । सरकार सही कि विपक्षी गलत जनताहरु अलमल्ल परेका छन् । सरकारले पेट्रोलियम पदार्थको जतिमा खरिद गप्यो त्यतिमा नै बेच्नुपर्छ । घाटा खाएर सरकारले केलाई बेच्ने ? जनताले अहिले पनि कर तिरेका छैनन् । उनीहरुलाई किन कडाइ नगर्ने ? देश चल्ने एकमात्र स्रोत भनेको कर हो । यो नै उठाउन सकिएन् भने मुलुक कसरी चल्छ ? कतिञ्जेल विदेशीसंग ऋण लिएर सरकारी कर्मचारीलाई तलब खुवाउने ?
जनताप्रति हामी जिम्मेवार छौं । जनताका लागि हामी जे गर्न पनि तयार छौ भन्छन् सरकार र सांसद् । तर, आजसम्म एक दिनको तलबभत्ता छोडेको पाइदैन् । इन्धन ल्याउन नसक्ने भइसक्यो तर सरकारी गाडी लिएर डुल्न हिडेका छन् । देश सकिए पनि यिनीहरुले सरकारी सेवासुविधा लिन छाड्दैन् । जनताको नाम बेचेर खान पल्केका ठगहरु । नेपाली कांग्रेसका महामन्त्री गगन थापा जतिखेर पनि जनताका लागि यो गर्छु, त्यो गर्छु भन्छन् । तर, आजसम्म उनले के गरे ? सरकारी जागिर खान पढाइ भएन् त्यसैले राजनीति गरेर कमाउन पुगेका हुन् । आफ्नो घर हुँदाहुदै पनि सरकारबाट घरभाँडा बुझ्ने दलालहर यहा कति छन् कति । युवा नेता भन्यो भ्रष्ट्राचार गप्यो । राजनीतिक दललाई जनताबाट नङगाउदै पूर्व सञ्चारकर्मी रवि लामिछानेले पार्टी खोलेका छन् । अरुले भ्रष्ट्राचार गरेका छन् म किन नगर्ने भन्दै उनी कम्मर कसेर लागेका छन् ।
स्वतन्त्रको नाम लिएर दल खोल्ने रविलाई जनताले कहाँ पुप्याउछन् हेर्न अझै बाँकी छ । जनता र राष्ट्रको लागि उसको योगदान अलिकति पनि छैन् । टिभीमा चिच्याएको भरमा जनता पछि नलाग्लान् । टिभीमा जनताको कुरा उठाउनु उसको पेशा थियो । त्यही टिभीमै बोलेको र राजनीति दललाई गाली गरेको भरमा जनताले मलाई भोट दिन्छन् भन्नुचाहि दिँउसै सपना देख्नु मात्र हो । नेता बन्नु त धेरै गाह्रो छ । काठमाडौंका मेयर बालेन्द्र शाहको कुरा गरौं । हिजो के के न गर्छु जस्तो देखाए । राजनीति पार्टीलाई पछाडि छोडेर आएका व्यक्ति अहिले काम गर्न नसकेर सर्वत्र आलोचित छन् । बालेनलाई मेयर पद टोक्नु न बोक्नु भएको छ । अझै पनि जनतालाई झुक्याएर माथि पुग्छु भनेर कसैले नसोच्दा पनि हुन्छ । कुनै पनि व्यक्ति वा राजनीतिक दलले देश र जनतामाथि खेलबाँड नगरौ ।
अनुसा थापा
भक्तपुर