neapl investment mega bank
  • गृहपृष्ठ
  • चार सय एघार जनाले बुझाए निर्वाचन खर्च विवरण

चार सय एघार जनाले बुझाए निर्वाचन खर्च विवरण

Jul 1st, 2022

 

काठमाडौ १७ असार

स्थानीय तहको निर्वाचन सकिएको एक महिना बितिसक्दा पनिचितवन जिल्लामा रहेका राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुले खर्च विवरण बुझाएका छैनन् । 

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार एक हजार ९५० जना उम्मेदवारमध्ये ४११ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन् । 

कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार भरतपुर महानगरपालिकाका १२२ जनाले मात्र खर्च विवरण बुझाएका छन् महानगरमा ५३५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । 

यस्तै रत्ननगर नगरपालिकामा ४०६ उम्मेदवारमध्ये ७६, खैरहनी नगरपालिकामा २८४ मध्ये आठ जनाले मात्रै खर्च विवरण बुझाएको उनले जानकारी दिए । 

राप्ती नगरपालिकाका २६१  उम्मेदवारमध्ये १०, कालिका नगरपािलकाका २१३ उम्मेदवारमध्ये ६६, माडी नगरपालिकाका १५७ मध्ये १२५ र इच्छाकामना गाउँपालिकाका ९४  उम्मेदवारमध्ये चार जनाले मात्र खर्च विवरण बुझाएका छन् । 

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत दुई हजार २७२ जनाले उम्मेदवारी दर्ता गरेकामा ३३२ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । 

स्थानीय तह निर्वाचन नियमावली ४० को अनुसूची ३० बमोजिम निर्वाचनको अन्तिम मत परिणाम आएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने हुन्छ । 

विवरण नबुझाउने उम्मेदवारलाई आयोगले सङ्घीय कानुनअनुसार जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको कार्कीले जानकारी दिए । 

नियमावली अनुसार महानगर प्रमुख र उपप्रमुखले रु सात लाख ५० हजार, वडाध्यक्ष र सदस्यले रु तीन लाख ५० हजार खर्च गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।

यस्तै नगरपालिकाका प्रमुख र उपप्रमुखले रु चार लाख ५० हजार, वडाध्यक्ष र सदस्यले रु दुई लाख ५० हजार, गाउँपालिका प्रमुख र उपप्रमुखले रु तीन लाख ५० हजार वडाध्यक्ष र सदस्यले रु एक लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था रहेको छ ।