काठमाडौं ६ असार
सरकारले खाना पकाउने ग्यासमा दुई थरी मूल्य निर्धारण गर्ने भएको छ । नेपाल आयल निगमले औद्योगिक प्रयोजनका लागि परल मूल्यमा र घरायसी प्रयोजनका लागि केही सहुलियतमा ग्यास बिक्री गर्ने तयारी गरिरहेको जनाएको छ ।
नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले यसका लागि ग्यासको गन्ध र सिलिन्डरको रंग फेर्ने तीया भएको बताए ।
इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलग अलग मूल्य तोक्ने बताएका हुन् ।
उनले भने, ‘हामी एकदमै चाँडो ग्यासको दोहोरो मूल्यमा जान्छौं, दोहोरो मूल्य गरेर औद्योगिक प्रयोजनमा परल मूल्यमा जाने र घरायसी प्रयोजनमा सहुलियत दिने छौं ।
औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको ग्यास सिलिन्डर चिन्न सिलिन्डरको आकार, ग्यासको गन्ध र सिलिन्डरको रङ पनि फरक बनाउने थानीले बताए ।