ललितपुर २८ जेठ
ललितपुर महानगरपालिकाले महानगरको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गरेको छ ।
ललितपुर महानगरपालिकाले महानगरले गरेका कामको विषयमा सर्वसाधरणलाई सहजै जानकारी दिने तथा कुन शीर्षकको राजश्व कति तिर्नुपर्ने लगायतको जानकारी दिने गरी जावलाखेल, लगनखेल, हरिसिद्धि, धापाखेल, नखिपोट, भैंसेपाटी, सानेपा, रिङरोडभित्र ३ र रिङरोडबाहिर ४ स्थानमा नगर प्रहरी सूचना केन्द्र राख्ने भएको हो।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गत वर्षको माघमा नै नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गरेका थिए। ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउन सूचना केन्द्र पहिलो माध्यम भएको प्रमुख महर्जनको भनाइ छ ।
उनले महानगरपालिकालाई स्मार्ट सिटी बनाउन महानगरले एकपछि अर्को काम निरन्तर रुपमा गर्दै आएको पनि वताउँदै हेर्दा सानो देखिए पनि यो सूचना केन्द्र अत्यन्तै महत्त्वपूर्ण रहेको बताए।
साथै मेयर महर्जनले ललितपुर महानगरपालिका क्षेत्रभित्रका सडकमा ट्राफिक लाइटको समस्या रहेकाले महानगरपालिका भित्रका ६ वटा मुख्य–मुख्य चोकमा ट्राफिक लाइट जडान गरेको समेत वताएका छन् ।
अहिले ललितपुर महानगरपालिकाको २९ वटै वडामा विकास निर्माणको कामहरु थालनी गरेको छ । सम्पदा संरक्षण देखि हरेक क्षेत्रमा राम्रो कामहरु भएका छन् भने महानगरलाई स्मार्ट सिटि बनाउने अवयवहरु धेरै रहेका छन ।
विश्वका विकसित मुलुकका शहरमा यस्तो सूचना केन्द्रहरु राखिएको हुन्छ । त्यही अनुसार महानगरपालिकाले शुरु गरेको छ । अब महानगर क्षेत्रका विभिन्न स्थानमा सूचना केन्द्रहरु राखिने छ । स्मार्ट सिटि बनाउनको लागि अत्यन्तै महत्वपूर्ण पक्ष सूचना केन्द्र भएकाले यसको स्थापना गरिएको हो ।
एड्भोटेरियल