neapl investment mega bank

असार १ देखि मतदाता नामावली संकलन गरिने

Jun 6th, 2022

काठमाडौ २३ जेठ

निर्वाचन आयोगले असार १ देखि मतदाता नामावली संकलन गर्ने जनाएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने काम असार १ देखि सञ्चालन गर्ने जनाएको हो ।

१८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम छुट भएका नेपाली नागरिकले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा फोटो सहितको नामावली दर्ता गराउन सक्नेछन् ।

यस कार्यक्रम अन्तर्गत नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन पनि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ ।

पेशा, व्यवसायको कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको तर आफ्नो स्थायी ठेगाना अर्को जिल्लामा रहेको भए त्यस्तो व्यक्तिले नाम दर्ताको लागि आवश्यक प्रमाण सहित आफू रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिनन सक्नेछन् ।

त्यस्तो व्यक्तिको नाम स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता दर्ता कार्यक्रम समेत सञ्चालन हुने आयोगले जनाएको छ ।