काठमाडौं २३ जेठ
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले बलात्कार तथा यौन हिंसाको घटनामा उजुरी दिने हदम्याद तत्काल हटाउन नसकिने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बन्दीले नेपाल कानुन आयोगको अध्ययन प्रतिवेदन नआई उक्त घटनाको उजुरी दिने हदम्याद हटाउन नसकिने बताएका हुन् । मन्त्रीको यस भनाईले बलात्कारसम्बन्धी मुद्दामा उजुरी दिन तत्काल हदम्याद नहट्ने संकेत गरेको छ ।
कानुन आयोगले दिने अध्ययन प्रतिवेदनको आधारमा मात्रै त्यसको उजुरीको हदम्याद हटाउने गरी कानुन संशोधन गर्न सरकार तयार रहेको उनको तर्क छ ।
उनले बलात्कारका घटनाका पीडित हदम्यादका कारण न्यायबाट बञ्चित हुन नपरोस् भनेर कानुन आयोगलाई हदम्यादका सम्बन्धमा सर्वोच्च अदालतको हालसम्मको नजिर, सामाजिक परिवेश र विभिन्न मुलुकको हदम्याद सम्बन्धी प्राधानलाई हरेर प्रतिवेदन बनाउन निर्देशन दिएको वताए ।