आधारभूमि संवाददाता
लालितपुर २४ बैशाख
स्थानीय चुनावमा आफ्नो जित सुनिश्चित गर्न उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । महालक्ष्मी नगरपालिकामा पनि चुनावी सारगर्मी बढेको छ । सो नगरपालिकामा मेयर र उपमेयरका लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेका छन् ।
माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिएका छन् । त्यस्तै एमालेबाट मेयरमा हरिगोविन्द श्रेष्ठ एकल रुपमा चुनावी मैदानमा उत्रिएका छन् । एमालेको नगर कमिटी अध्यक्षसमेत रहेका श्रेष्ठ जित्ने आत्मविश्वासका साथ चुनावी प्रचारमा जुटेका छन् । एमालेबाटै उपमेयरमा उठेकी बीणा सुवेदी जित्नेमा ढुक्क छन् ।
त्यस्तै माओवादीका जिल्ला संयोजक कट्टेल दोस्रो पटक चुनावी मैदानमा उत्रिएका हुन् । यस पटक काँग्रेसले समेत साथ दिएकाले चुनाव जित्ने आत्मविश्वासका साथ प्रतिस्पर्धामा उत्रिएका हुन् । यता उपमेयरमा गठबन्धनबाट काँग्रेसकी लक्ष्मी महर्जन पनि माआवादीको साथ पाएपछि आफूले जित्नेमा विश्वस्त छन् ।
गठबन्धनमै रहेको नेकपा एकीकृत समाजवादीको तर्फबाट नकुल थापाले मेयरमा उम्मेदवारी दिएका छन् । गठबन्धनबाटै दुुइजनाको उमेदवारी परेकोले त्यसको फाइदा आफ्नो पोल्टामा पार्ने दाउमा छन् हरीगोविन्द श्रेष्ठ ।
मेयरमा नेकपा एकीकृत समाजवादीको उम्मेदवारी परेपछि गठबन्धन र एमाले दुवैलाई असर पर्ने स्थानीयबासीको तर्क छ । तर पछिल्ले समय सो क्षेत्रमा माओवादी केन्द्रको संगठन मजबुत भएको मेयरका उम्मेदवार शिवप्रसाद कट्टेल बताउँछन् । २०७४ को स्थानीय तह निर्वाचनमा यो पालिकामा माओवादी केन्द्र तेस्रो शक्ति बनेको थियो ।
महालक्ष्मी नगरपालिका मेयरमा ९ जना, उपमेयरमा ४ जना गरी जम्मा २२८ जनाले उम्मेदवारी दिएका छन् । राप्रपाबाट मेयरमा प्रविण खत्री र उपमेयरमा रामदेवी महर्जनले उम्मेदवारी दिएका छन् । कुल ३५ हजार २३० जना मतदाता रहेको यस नगरपालिकामा यसअघि मेयर र उपमेयर दुवै एमालेले जितेको थियो ।