neapl investment mega bank
  • गृहपृष्ठ
  • यस्ता छन् काठमाडौ महानगरपालिका मेयरकी उमेदवार सिर्जना सिंहका संकल्प

यस्ता छन् काठमाडौ महानगरपालिका मेयरकी उमेदवार सिर्जना सिंहका संकल्प

Apr 28th, 2022

आधारभूमि संवाददाता

काठमाडौ १५ बैशाख

काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् ।

बिहीबार पत्रकार सम्मेलन गरेकी सिंहले आफ्नो ७ संकल्प सार्वजनिक गरेका हुन् । उनले सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर, दिगो पर्यटन, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल र समावेशी पूर्वाधार, स्वावलम्बी महिला, सबल युवा, सृजनशील महानगरवासी लगाएतका एजेण्डा उठाउकी छिन् ।

यस्ता छन् उनका संकल्प

१. सेवा र सुशासनः महानगरलाई विधिको शासन, नियम, कानून भित्र रहि चलाउने संकल्प गर्दछु । भ्रष्टाचारमुक्त, चुस्त सेवाप्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा काठमाडौं महानगरलाई स्थापित गर्नेछु । संघीय सरकार, प्रदेश सरकार, अन्य पालिका, नीजि क्षेत्र, गैरसरकारी संघसंस्था र समुदायसँग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि काम गर्नेछु ।

२. स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा स् शिक्षा र सिकाईको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउनेछु । महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडाहरुमा रोकथाम, परिक्षण, उपचार र पुर्नस्थापनासहितको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पतालको सञ्चालन गर्नेछु । जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न लगायत विशेष समुहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउनेछु ।

३. स्वच्छ, सफा, दिगो पर्यावरण स् काठमाडौं महानगरलाई जिरो वेस्ट नगरपालिका बनाउने छु । पिउन योग्य पानी, स्वास फेर्न योग्य हावाका लागि आवश्यक कानूनी, संस्थागत र संरचनागत व्यवस्था गर्नेछु । सार्वजनिक खुल्ला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, फल्चा आदीको संरक्षण, पुर्नस्थापना तथा विस्तार गर्नेछु ।

४. सुरक्षित शहरः महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्नसक्ने र हिडडुल गर्न सक्ने शहरको निर्माण गर्नेछु । विपद थेग्न सक्ने क्षमतायुक्त शहरको निर्माणको लागि काम गर्नेछु ।

५. संस्कृति, सम्पदा र सभ्यता स् मौलिक ज्ञान, भाषा, जात्रा, बाजागाजा, चाडपर्व, मेला, ग्रन्थ, पेशालाई समुदायको अपनत्व र संलग्नतामा सम्वद्र्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसँग जोड्ने छु । गुठि प्रणालीको प्रवद्र्धन, संरक्षण गर्दै दिगो विकासको लागि प्रतिवद्ध रहि कार्य गर्नेछु ।

६. सबल र समुन्नत पूर्वाधार स् सहज रुपमा हिडडुल गर्ने पुर्वाधारको निर्माण गरी पैदलयात्री केन्द्रीत शहरका रुपमा महानगरलाई विकास गर्नेछु । महानगर क्षेत्रभित्र सबैखालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्नेछु । महानगरको कार्यक्षेत्र भित्र पर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्न तथा मर्मत सम्भारका लागि अविलम्ब कार्य गर्न सक्नेगरी संस्थागत क्षमताको विकास गर्नेछु ।

७. सबल युवा, स्वावलम्वी महिला, सिर्जनशील महानगरबासी स् युवाका लागि अवसर, महिलाको शशक्तिकरण र सम्पूर्ण महानगरबासीको सिर्जनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी गर्नेछु । उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्नेछु । त्यतिमात्र होइन, जुन सुकुम्बासीको हाम्रो समस्या छ, काठमाडौँमा । उहाँहरुको पनि समस्यालाई बुझि म त्यसको निराकरण गर्न पनि लाग्नेछु ।