काठमाडौं, बैशाख ५
फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले मार्सिलेलाई २-१ गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन नेमार र केलियन एमबाप्पेले एक-एक गोल गरे। मार्सिलेका दुजे क्यालेटाले एक गोल गरे।
खेलको १२ औं मिनेटमा नेमारले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ३१ औं मिनेटमा मार्सिलेका दुजे क्यालेटाले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए ।
तर,पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए ।
जितसंगै पीएसजीले ३२ खेलबाट ७४ अंक जोडेको छ र शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ ।पराजित मार्सिलेको ३२ खेलबाट ५९ अंक छ र तालिकाको दोस्रो स्थानमा छ ।